Tue. Sep 24th, 2024

अफगानिस्तानका राष्ट्रपति घानीलाई संयुक्त अरब इमिरेट्स (यूएई)ले शरण दियो

राष्ट्रपति अशरफ गनी

काठमाण्डौं, २०७८ भदौं ३ गते बिहीबार । अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई संयुक्त अरब इमिरेट्स (यूएई)ले शरण दिएको छ । तालिबान विद्रोही सेनाले राजधानी काबुल कब्जा गरे लगत्तै देश छाडेर भाग्नु भएका राष्ट्रपति घानी ताजकिस्तान पुग्नु भएको खवर प्राप्त भएको थियो । तर ताजकिस्तान सरकारले उहाँ चढ्नु भएको हेलिकोप्टरलाई आफ्नो भूमिमा अवतरण हुन नदिएपछि उहाँ उज्वेकिस्तान पुग्नु भएको खवर पनि प्राप्त भयो । केही दिनसम्मको व्यापक गुपचुपपछि राष्ट्रपति घानीलाई संयुक्त अरब इमिरेट्स (यूएई)ले राजनीतिक शरण दिएको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र उहाँको परिवारलाई आफ्नो देशमा स्वागत गरेको जनाएको छ । समाचार संस्था अल जजिराले घानी र उहाँको परिवार तथा सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार भागेर उज्वेकिस्तान गएको दाबी गरेको थियो ।

सङ्कटका बेला देश र नागरिकलाई छोडेर भागेको भन्दै उहाँको आलोचना पनि भइरहेको छ । पहिलो पटक सन् २०१४ मा अफगानिस्तानको राष्ट्रपति भएका घानीले दोस्रो पटक सन् २०१९ मा सत्ता सम्हाल्नु भएको थियो ।

राष्ट्रपति घानीले देश छाडे पनि तालिबानले हालसम्म सरकार कसरी गठन गर्ला भन्ने अन्योल कायमै रहेको छ । प्राप्त समाचार अनुुसार विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अफगानिस्तानमा हजारौँ नागरिक विस्थापित भएका भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओले अफगानिस्तानमा तत्काल मानवीय सहायता र स्वास्थ्य सेवाको आवश्यकता रहेको पनि जनाएको छ।

Facebook Comments