Tue. Sep 24th, 2024

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्ति गर्न प्रधानमन्त्रीको निर्देशन, शाक्यको राजीनामा माग्ने तयारी

काठमाण्डौं, २०७८ साउन १९ गते मंगलबार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

विगतमा लोडसेडिङ्ग हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरी चर्चामा आउनु भएका घिसिङ एक वर्ष अघि चार वर्षे कार्यकाल पूरा गरी प्रमुख कार्यकारीबाट अवकाश हुनुभएको थियो । अघिल्लो  सरकारले उहाँको स्थानमा हितेन्द्रदेब शाक्यलाई  नियुक्त गरेको थियो ।

‘हितेन्द्रदेव शाक्यले दीर्घकालीन र ठूला आयोजनाको काम त गर्न सक्नुभएन नै हटिसकेको लोडशेडिङ फेरि बिउँतिने खालको सङ्केत दिने गरी काम गर्नुभएकाले उहाँलाई हटाउने तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ’, सचिवालयले भनेको छ ।

आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ गएकाे वर्षको भदौमा प्राधिकरणबाट बिदा हुनुभएको थियो । उहाँलाई पुनर्नियुक्ति गर्न चौतर्फी दबाब आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्दा घिसिङ बिदा हुनुभएको थियो ।

घिसिङले चार वर्ष पदमा रहँदा देशलाई लोडशेडिङमुक्त गराउने, घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याउने, अलपत्र परेका जलविद्युत् आयोजना सम्पन्न गर्ने, प्रसारण लाइन र सब-स्टेशनको निर्माण र मर्मतमा तीव्रता दिने, विद्युतीकरणमा जोड दिने लगायतका काम गर्नुभएको थियो ।

Facebook Comments