Tue. Sep 24th, 2024

अफगानिस्तान द्वन्द

- तालिबान लडाकुको सफलता विश्वकै सुरक्षाका लागि खतरा हुन सक्ने चेतावनी

काठमाण्डौं, २०७८ साउन १९ गते मंगलबार । अफगान सेनाका एक जेनरलले सरकारी फौजहरूसँगको लडाइँमा तालिबान लडाकु समूह विजयी भए त्यसले विश्व शान्तिमा “भयावह” परिणाम निम्त्याउने चेतावनी दिनुृभएको छ ।

जेनरल सामी सदातले दक्षिणी हेलमन्ड प्रान्तमा तालिबान लडाकुविरुद्ध जारी लडाइँको नेतृत्व गरिरहनु भएको छ । हेलमन्डको राजधानी लश्कर गहमा भीषण सङ्घर्ष भइरहेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दिनमा त्यहाँ कम्तीमा दशजना नागरिकको ज्यान गएको छ। तालिबान लडाकु समूहले लश्कर गहका धेरै जिल्लामाथि नियन्त्रण कायम गरेका छन्।

तर तालिबानले लश्कर गहमाथि नियन्त्रण गर्न नसक्नेमा आफू विश्वस्त रहेको जेनरल सदातको दाबी छ।

सरकारी फौजहरूले केही भू-भागमाथि नियन्त्रण गुमाएको भए पनि तालिबान समूहले लडाइँलाई जारी राख्न नसक्ने बीबीसीलाई उहाँले बताउनु भयो ।

यद्यपि तालिबान समूहले अरू इस्लामवादी समूहबाट शक्ति एकत्रित गरिरहेको र त्यसले अफगानिस्तानबाहिर खतरा निम्त्याउन चेतावनी उहाँले दिनुभयो ।

“यसले ससाना अतिवादी समूहमा युरोप र अमेरिकाका शहरहरूमा परिचालित हुनका लागि आशा बढाउनेछ र विश्वकै सुरक्षामाथि भयावह असर पर्न सक्छ,” उहाँले भन्नुभयो ।

“यो एउटा अफगानिस्तानको युद्ध होइन, यो उदार र सर्वसत्तावादविरुद्धको एउटा लडाइँ हो।” बीबीसी

Facebook Comments