Fri. Oct 18th, 2024

प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुख तथा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

काठमाडौं, २०७७ पुस ५ गते आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गर्नुभएको छ । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागिता थियो ।

प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिनु भएको जानकारी गराउनु भएको छ ।

सुरक्षा निकायसँगको बैठकमा नयाँ राजनीतिक कदमविरुद्ध हुनसक्‍ने राजनीतिक आन्दोलन तथा सडक प्रदर्शन र त्यसले सुरक्षामा उत्पन्न गर्नसक्‍ने चुनौतीबारे छलफल भएको थियो।

बालुवाटारको छलफलमा प्रधानमन्‍त्रीले सबैतिरबाट असहयोग र घेराबन्दी गरेकोले आफूले यस्तो कदम चाल्‍न वाध्य हुनुपरेको बताउँदै जनतामा जाने आफ्नो कदमलाई सघाउन आग्रह गर्नु भएको थियो ।

यसैबीच संसद् विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने निष्कर्षका साथ नेपाल प्रहरीले मातहतका कार्यालयलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षा सतर्कताका लागि निर्देशन दिइएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिद्वारा आज प्रतिनिधिसभा विघटन गरिएपछि काठमाडौँलगायत मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भएका छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति तय भएपछि आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । गोरखापत्र अनलाईनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङ पनि सहभागी हुनुभएको थियो ।

Facebook Comments