Tue. Apr 21st, 2026

इजरायली युद्धले गाजामा फिलिस्तिनीहरूको ‘अस्तित्व नै समाप्त’ गर्ने खतराः संयुक्त राष्ट्रसङ्घ   

       

जेनेभा, २०८२ वैशाख २४ गते बुधबार । संयुक्त राष्ट्रसघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले बुधबार गाजा क्षेत्रमा इजरायलले विस्तार गर्न लागेको सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गर्दै उक्त योजना फिलिस्तिनीहरूको गाजामा निरन्तर अस्तित्वमै खतरा ल्याउने दिशामा उन्मुख रहेको चेतावनी दिनुभएको छ ।

इजरायली सेनाले गाजामा सैन्य कारबाही विस्तार गर्न लाखौँ आरक्षित सेनालाई बोलाएको छ । एक इजरायली अधिकारीका अनुसार यो योजना फिलिस्तिनी क्षेत्रको ‘पूरा अधिग्रहण’ मा आधारित छ ।

टर्कले भन्नुभयो, “इजरायलले गाजाका बासिन्दाहरूलाई बलपूर्वक दक्षिणी क्षेत्रको सानो भागमा सार्ने योजना र गाजाबाहिर निष्कासन गर्ने धम्कीहरूले यस कुरा प्रष्ट पार्छ कि इजरायलको कार्यले फिलिस्तिनीहरूलाई त्यहाँ बाँच्नै नसक्ने अवस्था सिर्जना गर्दैछ ।”

उहाँले थप भन्नुभयो, “एक वर्ष आठ महिनादेखि चलिरहेका सैन्य रणनीतिले कुनै स्थायी समाधान ल्याएको छैन । बन्धकको रिहाइ पनि सम्भव भएको छैन । त्यसैले यही रणनीति दोहोर्याएर अब समाधान हुने विश्वास गर्न कुनै आधार छैन ।”

टर्कले चेतावनी दिँदै भन्नुभयो, “गाजामा हमला विस्तार गर्दा थप विस्थापन, निर्दोष नागरिकहरूको मृत्यु र घाइते हुने सङ्ख्या वृद्धि, साथै बाँकी रहेको आधारभूत संरचनाको विनाश हुने निश्चितजस्तै छ ।”

हामासको सन् २०२३ अक्टोबर ७ को आक्रमणबाट सुरु भएको यस युद्धमा गाजाको २४ लाख जनसङ्ख्याको अधिकांश कम्तीमा एकपटक विस्थापित भइसकेको छ । करिब दुई महिनादेखि इजरायलले गाजामा सबै प्रकारको मानवीय सहायता प्रवेशमा प्रतिबन्ध लगाएको छ, जसले सङ्कटलाई झनै चर्काएको छ ।

“गाजाका बासिन्दाहरूलाई खाना जस्ता जीवनरक्षक सामग्रीबाट वञ्चित गरिएको छ । सामुदायिक भान्छाघरहरू र न्यूनतम कानुनी व्यवस्था कायम राख्न खोज्नेहरूमाथि समेत निरन्तर आक्रमण भइरहेको छ,” टर्कले बताउनुभयो ।

उहाँले थप भन्नुभयो, “नागरिक जनतालाई भोकमरीमा राख्नु युद्धको एक माध्यमका रूपमा प्रयोग गरिनु अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराध हो । यस सङ्कटको दीर्घकालीन समाधान अन्तर्राष्ट्रिय मान्यताको पूर्ण पालना मार्फत मात्र सम्भव छ ।”

हामासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले मार्च महिनाको मध्यदेखि पुनः सुरु गरेको आक्रमणमा कम्तीमा दुई हजार ५०७ जनाको मृत्यु भइसकेको छ । यससँगै यो युद्धमा हालसम्म कुल मृतक सङ्ख्या ५२ हजार ६१५ पुगेको छ ।

हामासको सन् २०२३ को आक्रमणमा इजरायली पक्षमा एक हजार २१८ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए । त्यही दिन अपहरण गरिएका २५१ जनामध्ये ५८ जना अझै गाजामा छन्, जसमा ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ । एएफपी

Facebook Comments