Sat. Jul 27th, 2024

राष्ट्रपतिद्वारा नवनियुक्त तीनै जना मन्त्रीलाई शपथ

काठमाडौं, २०७७ असोज २९ गते बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन जना मन्त्रीलाई आज बिहीबार बिहान शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । संविधानको धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई शपथ गराउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गोरखापत्र अनलाईनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठलाई नियुक्तिको सिफारिस गर्नुभएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पाउनुभएका पार्वत गुरुङ यसअघि महिला बालबालिका मन्त्रीमा पदबहाल हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीले विशेष समारोहबीच मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको सहभागिता थियो ।

Facebook Comments