Sat. Jul 27th, 2024

भारतीय सेनापति कात्तिक १८ मा नेपाल आउने

काठमाडौं, २०७७ असोज २८ गते बुधबार

काठमाडौं : भारतका सेनापति मनोज मुकुन्द नरवाणे कात्तिकको तेस्रो हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । भारतका २८ औं सेनाध्यक्ष नरवाणे कार्तिक १८ मा नेपाल भ्रमणमा आउन निश्‍चित भएको हो। त्यसका लागि जंगीअड्डाले विशेष तयारी थालेको छ।

भारतबाट अतिक्रमित भूमि समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध चिसो बन्दै गरेको अवस्थामा हुन लागेको सेनापतिको भ्रमणलाई महत्वका साथ हेरिएको छ। नयाँ नक्सा प्रकरणपछि भारतबाट उच्चस्तरका अधिकारी नेपाल भ्रमणमा आउन लागेको पहिलोपटक हो।

भारतीय सेनाका सेनाध्यक्ष नरवाणे नेपालमा रहँदा उच्चस्तरको राजनीतिक भेटवार्ता हुनेछ। सेनापति नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली,रक्षामन्त्री ईश्वर पोखरेल र समकक्षी सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । नरवाणे मुक्तिनाथ भ्रमणमा जाने कार्यक्रम भ्रमणमा समावेश गरिएको छ। तर कोरोना संक्रमणको अवस्था हेरेर यो फेरबदल हुनसक्‍नेछ।

भारतका सेनाध्यक्ष नरवाणे नेपाल भ्रमणमा आउने  निश्चित भएको र त्यसका लागि तयारी सुरु भइसकेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले अन्‍नपूर्ण अनलाइनलाई दिए। तीन दिने नेपाल भ्रमणको क्रममा सेनापति नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्ने विशेष कार्यक्रम छ। भारतका सेनापतिले नेपाली सेनाको र नेपालका सेनापतिले भारतीय सेनाको मानार्थ महारथी उपाधि ग्रहण गर्ने परम्पराअनुसार यो भ्रमण तय गरिएको छ। सेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ महारथी उपाधि ग्रहण गरिसकेका छन्।

भारतले अतिक्रमित गरेको  कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको संविधान संशोधन पारित गरेपछि भारतले यसमा अप्रशन्‍नता व्यक्त गरेको थियो। त्यसपछि नेपाल भारतबीच राजनीतक तथा कुटनीतिक स्तरमा सम्वाद लगभग अवरुद्ध भएको छ। नरवाणे सेनाअध्यक्ष भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। यसअघि नै भारतीय सेनापतिको भ्रमणको तयारी भएको थियो । तर कोरोना संक्रमण तथा अन्य कारणले गर्दा भ्रमण स्थगित भएको थियो। सामान्यतया: भारतीय सेनापति नेतृत्व समालेपछि केही महिनामै नेपाल भ्रमणमा आउने र मानार्थ महारथीको उपाधि ग्रहण गर्ने प्रचलन थियो। तर उनी सेनापति भएको एक वर्ष बढी भइसक्दा पनि कोरोना संक्रमण तथा दुई देशबीच उत्पन्‍न तनावका कारण भ्रमणको तयारी पटकपटक भए पनि स्थगित हुँदै आएको थियो।

सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमण दुई देशबीच चिसिएको सम्बन्ध सुधारका लागि एउटा अवसर हुनसक्‍ने भन्दै त्यसलाई विशेष सतर्कताका साथ उपयोग गर्नुपर्ने सुझाव विज्ञहरूले सरकारलाई दिएका छन्।नेपाल भारतबीचको सम्बन्धमा सैन्य कुटनीतिको महत्वपूर्ण भूमिका रहँदै आएको छ। त्यसैले यो भ्रमणलाई चिसिएको सम्बन्ध सुधारको संकेतको रुपमा लिन सकिन्छ, नेपाल भारतबीचको सुरक्षा तथा कुटनीतिक मामिला नियालिरहेका एक विज्ञले बताए।

दुई देशबीचको राजनीतिक तहमा उत्पन्‍न असमझदारी तथा तनावको छाया  सैन्य सम्बन्धमा पनि केही देखिएको थियो। दुई देशका सेनाबीच निकै लामो र गहन सम्बन्ध एवं आदान प्रदान छ। सन् १९५० को दशकदेखि दुवै देशले छिमेकी सेनापतिलाई मानार्थ सेना प्रमुखको उपाधि दिने प्रचलन छ। नेपाली सेनाले प्रयोग गर्ने हतियार तथा गोलीगठ्ठाजस्ता घातक र अरू गैरघातक सैन्य सामग्रीहरू भारतबाट आपूर्ति हुने गरेको छ। नेपाली सेनाको तालिम, शिक्षा, सूचना तथा संस्थागत विकासमा भारतले निरन्तर महत्वपूर्ण सहयोग गर्दै आएको छ। दुवै देशका सैनिक अधिकारीहरू एक अर्काको देशमा तालिमका लागि आउने जाने क्रम पनि निरन्तर हुँदै आएको छ।

त्यसैगरी नेपाली प्रभाभारतीय सेनामा सातवटा गोर्खा रेजिमेन्ट अन्तर्गत लगभग ४० वटा बटालियन रहेका र त्यसमा ४० हजारभन्दा बढी नेपाली वा नेपाली मूल भएका व्यक्तिहरू कार्यरत रहेका छन्।

नेपालसँग कुनै पनि परामर्श र सहमति बिना भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोबार जाने सडक बनाएर वैशाख २६ गते उद्घाटन गरेको थियो। भारतका रक्षमन्त्री राजनाथ सिंले लकडाउनको अवसर छोपेर भिडियो कन्फेरेन्समार्फत उद्घाटन गरेपछि यसको नेपालमा व्यापक विरोध तथा आलोचना गरेको थिए।  त्यसको प्रतिक्रियामा भारतीय सेनाका प्रमुखनरवणेले चीनतर्फ इशारा गर्दै तेश्रो देशको आडमा नेपालमा उक्त विरोध भएको हुनसक्ने धारणा राखेका थिए। त्यो अभिव्यक्तिले उनी विवादमा तानिएका थिए। अन्नपूर्ण पोष्ट दैीनक अनलाईनबाट

Facebook Comments