नेपाली कांग्रेस (वीपी) ले प्रजातन्त्र दिवसका अवसरमा जलपान कार्यक्रमको आयोजना गर्ने

रमेश हतुवाली/काठमाण्डू, २०८१ फागुन ६ गते मंगलबार । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई पार्टीको मुल मन्त्र मान्दै अघि बढिरहेको नेपाली कांग्रेस (वीपी)ले भोलि ७५ औं प्रजातन्त्र दिवसका अवसरमा जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रजातन्त्र दिवसको ऐतिहासिक अवसरमा देशभक्त, राष्ट्रवादी र प्रजातन्त्रवादीबीच सहमति, सहकार्य र एकताका लागि जलपान कार्यक्रमको आयोजना गर्न लागिएको पार्टीले जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय सामाखुशी काठमाण्डूमा भोलि मध्यान्ह १२ः३० बजेदेखि आयोजना गर्न लागिएको जलपान समारोहमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, समाजसेवी, मानवअधिकारवादी, प्राध्यापक, कानून व्यवासायी, व्यापारी, उद्योगपति, सञ्चारकर्मी लगायतको सहभागिता रहने बताईएको छ ।
यसैबीच सो पार्टीले आजै पार्टीको सातौं केन्द्रीय समितिको विस्तारित वैठक पनि भव्य रुपमा सम्पन्न गरेको छ । हिजो सोमबार र आज मंगलबार सञ्चालन भएको सो बैठमा पार्टीका सभापति सुशीलमान शेरचनले राजनीतिक प्रतिवेदन र महामन्त्री देवेन्द्र प्रकाश पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विस्तारित वैठकमा महामन्त्री पौडेलले मुलुकमा देखिएको राजनीतिक वितृष्णा र जनताको असन्तुष्टीबारे जानकारी दिनुहुँदै जनअपेक्षा अनुसार मुलुकको जग वलियो बनाउन सर्वपक्षीय रुपमा राष्ट्रवादीहरुबीच वलियो एकताको खाँचो रहेको बताउनुभयो । साथै पौडेलले राष्ट्रवादीहरुबीच वलियो एकता कायम गर्न नेपाली कांग्रेस वीपीको महत्वपूर्ण भूमिका रहने पनि बताउनुभयो ।
सो पार्टीले भोलि नै वृहत पत्रकार भेटघाट कार्यक्रममार्फत केन्द्रीय समितिको विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने पार्टीका केन्द्रीय सदस्य माया लामिछाने ओझाले जानकारी दिनुभयो ।