Fri. Sep 20th, 2024

‘संक्रमितलाई विभेद नगरौं’: सोमनाथ अधिकारी ‘प्यासी’

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी 'प्यासी' । तस्बिर : अन्‍नपूर्ण

विराटनगर, २०७७ भदौं १२ गते शुक्रबार

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कोरोना भाइरसबाट संक्रमितलाई कुनै पनि खालको विभेद नगर्न आग्रह गरेका छन् ।  प्रदेश प्रमुख ‘प्यासी’ले एक अपील जारी गर्दै छरछिमेकी, इष्टमित्र, आफन्त संक्रमित भएमा सामाजिक विभेद नगर्न र आ–आफ्नो स्थानबाट सहयोग पुर्‍याउन आग्रह गरेका हुन् । ‘यो समय धैर्य गरी सावधानी अपनाउने बेला हो, ‘उनले अपीलमा भनेका छन्, ‘संक्रमितलाई सरसहयोग र हार्दिकता प्रकट गर्ने कुरामा कुनै पनि कमी आउन दिन हुँदैन ।’

कोरोना संक्रमित सबैलाई आवश्यक पर्ने गाँस, बास, लत्ता कपडा, आवश्यक औषधिको व्यवस्थापनमा एकजुट भइ सहयोग गर्न सम्बन्धित निकाय र आम जनसमुदायलाई ‘प्यासी ‘ले अपिल गरेका छन् ।

कोरोना भाइरसका विरुद्ध पहिलो लाइनमा उभिएर लडिरहेका स्वस्थ्यकर्मी र सीमा सुरक्षामा खटिरहेका सुरक्षाकर्मीको बसोबास, खानपान र पोशाकमा सरोकार पक्षको ध्यान पुग्नु जरुरी देखिएको उनले उल्लेख गरेका छन् ।

प्रदेश प्रमुख ‘प्यासी’ले उद्योगी, व्यवसायी, बुद्धिजिवी, समाजसेवी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधिहरु सबैलाई संयमीत एवं सुरक्षित भएर जिम्मेवारी बहन गर्दै कोरोनाका बिरुद्ध निरन्तर जुटिरहन अपील पनि गरेका छन् । संक्रमण सामुदाय स्तरमा फैलिएको वर्तमान अवस्थामा सबैलाई सुरक्षित ढंगले घरमा बस्न र नेपाल सरकारका विभिन्न निकायले सुरक्षाका लागि गरेका अपीलहरुलाई हार्दिकताका साथ पालना गर्न उनले आग्रह गरेका छन् ।

‘संक्रमणबाट बच्न अपनाइने उपायहरुलाई अवलम्बन गर्दै जोखिममुक्त रहने प्रयासमा लाग्नुपर्ने भएकोले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सुरक्षाका लागि गरेको आग्रहलाई आत्मसाथ गरी कोरोना भाइरसको रोकथाममा देखिएका चुनौतीलाई सामना गर्न सबैमा हार्दिक अपील गर्दछु,’ उनले भनेका छन् ।

महामारीमा अग्रपंत्तीमा रहेर जनताको जीवन रक्षाका लागि अहोरात्र खटिने स्वस्थ्यकर्मी र सुरक्षाकर्मीप्रति उच्च सम्मान व्यक्त गर्दै ‘प्यासी’ले उनीहरुप्रति उच्च सम्मान व्यक्त गर्न सबैमा अनुरोध पनि गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments