मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
खाँदबारी (सङ्खुवासभा), २०८१ पुस २८ गते आइतबार । मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
खाँदबारी रङ्गशालामा शनिबार शीतलपाटी फुटबल क्लबलाई २–१ गेलले हराउँदै बुल्स–११ सेमिफाइनलमा पुगेको हो । बुल्सका लागि रोशनकुमार माझीले दोस्रो हाफको सातौँ मिनेटमा र ३०औँ मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीतलपाटीका तर्फबाट पहिलो हाफको ३०औँ मिनेटमा विजय भुजेलले सान्त्वना गोल गरेका थिए ।
राससका अनुसार शनिबार भएको अर्को खेलमा एड्भान्स क्लबको तर्फबाट पहिलो हाफको तेस्रो मिनेटमा वसन्त ओझाले गोल गरेर खेललाई अग्रता दिलाए । खेलको ३०औँ मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले गोल फर्काएर बराबरी गरे । दोस्रो हाफमा चुलाचुलीका तीर्थ बस्नेतले अर्को गोल थपेर आफ्नो टोलीलाई विजयी बनाए ।
यसअघि एपिएफ कोशी प्रदेश र आयोजक तीनपोखरी क्लब सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगितामा जिल्ला बाहिरका तीन र जिल्लाभित्रका पाँच क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित रु दुई लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले नगद रु एक लाख १० हजार पाउने छ भने सेमिफाइन पुगेका दुई टोलीले रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोेगिताको फाइनल खेल आगामी माघ १ गते हुनेछ ।