Sat. Apr 20th, 2024

काठमाडौंमा गुञ्जियो “भारतीय विस्तारवाद मुर्दावाद”को नारा

काठमाडौं, २०७६ कार्तिक २२ गते शुक्रबार ।

भारतले नेपाली भूभाग लिम्पियाधुरादेखि लिपुलेकसम्मको क्षेत्र कब्जा गरी आफ्नो राजनीतिक नक्सामा समावेश गरेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि नै “भारतीय विस्तारवाद मुर्दावाद”को नारा लगार्ईएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले शुक्रबार भारतीय राजदूतावास अगाडि कालो झन्डा सहित “भारतीय विस्तारवाद मुर्दावाद” को नारा लगाउदै विरोध प्रदर्शन गरेको हो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतले नेपाली भूमि लिम्पियाधुरा , कालापानी , लिपुलेखलगायतका भूभाग र नक्सा दुवैतर्फबाट कब्जा गर्नु हेपाहा प्रवृत्तिको पराकाष्ठा भएको र भारतको यस व्यवहारबाट नेपालको सार्वभौमसत्ताको अपमान भएको बताउनु भयो । गत शनिबार भारतले उसको राजनीतिक नक्सामा नेपाली भूभागलाई भारतीय भूभागका रूपमा देखाउनु भारतको जघन्य कुकृत्य हो र यसविरुद्ध ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले निरन्तर आवाज उठाइरहनेछ, मोर्चाका अध्यक्ष नेपालले भन्नु भयो ।

भारतीय राजदूतावास, लैनचौर अगाडि भएको विरोध कार्यक्रममा कालो झन्डा हल्लाउँदै भारतीय विस्तारवाद मुर्दाबाद , कालापानीबाट भारतीय सेना फिर्ता गर, अतिक्रमित भूमि फिर्ता गर, जाली नक्सा मान्दैनौँ भन्ने नारा लगाइएको थियो ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, अमृत साइन्स क्याम्पस इकाई कमिटीले लैनचौरस्थित भारतीय दूतावासको मुख्य गेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेपछि आक्रोसित विद्यार्थीले निषेधित क्षेत्र तोडेर भारतीय दूतावासको गेट अगाडि पुत्लादहन गरेका हुन् ।


नेविसंघ, अमृत साइन्स क्याम्पसका कार्यवाहक अध्यक्ष पुरन रोकाया (सुदामा)को नेतृत्वमा दूतावास पुगेको विद्यार्थी टोलीले पुत्ला दहन गर्नुका साथै नेपाली भूभाग मिच्न पाईँदैन भन्दै नाराबाजी समेत गरेका थिए । सोही क्रममा आक्रोसित विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो । झडपका क्रममा सुजन गुरुङ, देवेन्द्र तिवारी, अमृतजंग बस्नेत, प्रकाश अर्याल, आङनिमा शेर्पा लगायत विद्यार्थीहरु घाइते हुनभएको थियो ।

आक्रोशित विद्यार्थीले आइतबार भारतीय दूतावासको सवारी साधन चल्न नदिने घोषणा समेत गरेका छन् ।

 

Facebook Comments