Tue. Apr 23rd, 2024

शान्तिका लागि अन्तरधार्मिक सम्वाद बढाउन मिडियाको भूमिका महत्वपूर्ण

dav

काठमाडौं, २०७६ कार्तिक २२ गते शुक्रबार

शान्ति तथा धार्मिक सद्भावका लागि धार्मिक संस्थाहरु र मिडियाबीचको सम्वाद, साझेदारी र सहकार्य महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् । अन्तरधार्मिक शान्ति महासंघ–नेपाल (IPFN)ले काठमाडौंमा शुक्रबार आयोजना गरेको “शान्ति स्थापनाका लागि अन्तरधार्मिक सम्वाद र मिडियाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सामाजिक शान्ति, एकता र सद्भावको लागि धार्मिक संस्थाहरुबीचको सहकार्यमा जोड दिएका हुन् । वक्ताहरुले सामाजिक सम्वादलाई जीवन्त बनाउन मिडियाले अहं भूमिका निर्वाह गर्ने बताए । साथै उनीहरुले अन्तरधार्मिक सम्वाद, सद्भाव र सहकार्य जस्ता विषयहरुलाई मिडियाले महत्व दिनुपर्ने बताए । सो अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसहित विभिन्न रेडियो, टेलिभिजन, पत्रिका र अनलाइनसँग सम्वद्ध ३० जनाभन्दा बढी पत्रकारहरुको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा हिन्दू, किराँत, मुस्लिम, क्रिस्चियन, बुद्धिस्ट तथा जैन धर्मका गुरुहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमममा बोल्दै अन्तरधार्मिक शान्ति महासंघ नेपालका अध्यक्ष रामभक्त कुरुम्वाङ लिम्बूले मिडियाबाट जाने सन्देशले समाजमा ठूलो असर र प्रभाव पर्ने भएकोले अन्तरधार्मिक विषयलाई गहिरीएर लेख्न आग्रह गर्नुभयो । उहाँले सबै धर्मको उद्देश्य समाजमा शान्ति कायम गर्नु हो भन्दै मिडियाले यो भावनालाई तोड्नेतिर नभई जोड्नेतिर भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

dav

कार्यक्रममा इन्टरफेथका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका नरेन्द्र पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पाण्डेले इन्टरफेथ डायलगका बारेमा प्रस्ट पार्दै मिडियाले खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभयो । उहाँले कार्यपत्रमा नेपाली मिडियाको अहिलेसम्मको भूमिकालाई सुक्ष्म रुपमा विष्लेषण गर्दै देखिएका कमिकमजोरीहरुमाथि टिप्पणी समेत गर्नुभयो । मिडियाले सत्यको तोडमरोड गर्न नहुने, अर्काको आस्थामाथि चोट पु¥याउन नहुने र सबैले मानव हितका लागि सोच्नुपर्नेमा पाण्डेले जोड दिनुभयो ।

dav

कार्यक्रम आयोजक सहयोगी संस्था यूनाईटेड मिसन टु नेपालका तर्फबाट बोल्दै बाल कुमारी गुरुङले शान्तिको लागि अन्तरधार्मिक संस्थाहरुबीचको निरन्तर सम्वाद महत्वपूर्ण हुने बताउनु भयो । साथै गुरुङले समाजमा शान्ति र सद्भाव अभिवृद्धि गरिरहने उद्धेश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको समेत जानकारी दिनु भयो ।

dav

कार्यक्रमा बोल्दै मुस्लिम धर्मगुरु नजरल हसनले नेपालको धार्मिक सहिष्णुताबाट विश्वले नै शिक्षा लिन सक्ने बताउनु भयो । धर्मले नम्रता र आदर सिकाउने गर्छ भन्दै गुरु हसनले केही मानिसहरुले आफ्नो व्यक्तिगत स्वार्थको लागि धर्मको दूरुपयोग गरेको कारण धर्मको बद्नाम भएको पनि बताउनु भयो । गुरु हसनले भन्नु भयो धर्मले युद्ध, हिंसा अनि द्वन्द सिकाउँदैन । नेपाली सञ्चारकर्मीहरुमा देखिएको धार्मिक सहिष्णुताको प्रशंसा गर्दै गुरु हसनले मुस्लिमले गरेका राम्रा कामको प्रचार प्रसार नेपालका हिन्दू पत्रकारहरुले गर्नु महत्वपूर्ण भएको बताउनु भयो । साथै गुरु हसनले पत्रकारहरु समाजको आँखा भएकोले उनीहरुले जसरी चाहान्छन् त्यसैगरी समाजलाई डोर्याउन सक्ने बताउँदै धार्मिक अशान्ति र द्वन्द फैलाउन खोज्नेहरुका विरुद्ध नेपाली पत्रकारहरु चनाखो हुनुपर्नेमा जोडदिनुभयो ।

dav

कार्यक्रममा डा. महेन्द्र भट्टराईले एउटा धर्मले अर्को धर्मको स्वतन्त्रता स्विकार गर्न नसक्ने अवस्थामा आफ्नो धर्मको स्वतन्त्रताको परिभाषित समेत हुन नसक्ने बताउनुु भयो । आफैबाट सुरु गरे मात्र शान्ति प्राप्त हुने भन्दै डा. भट्टराईले शान्तिविना मानव अस्तित्व नै खतरामा पर्ने बताउनु भयो । आफ्नो धार्मिक स्वतन्त्रताको चाहना राख्नेले अर्काको धार्मिक स्वतन्त्रतालाई पनि सम्मान गर्नुपर्ने भट्टराईको भनाई थियो ।

dav

कार्यक्रममा बोल्दै धर्मगुरुआमा सिपालीले सबैको सामूहिक प्रयासबाट मात्र शान्ति स्थापना हुने बताउनु भयो । अन्तरक्रिया कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै गुरुआमा सिपालीले जुन सुकै धर्म वा सम्प्रदायमा आस्था राख्ने मानिस भए पनि सम्मान र सद्भाव जस्ता कुरा विर्सन नहुनेमा जोडदिनुभयो । कार्यक्रममा उपस्थित हुने मानिसको संख्यमा ४० वा ५० जना भएर केही फरक नपर्ने बरु सबैको सामूहिक प्रयासबाट शान्ति स्थापनामा वल पुग्ने उहाँको विश्वास थियो । सवै धर्म र संस्कृतिको साझा फूलवारी नेपाललाई अझ सुन्दर बनाउन सक्ने आशा गर्दै गुरुआमा सिपालीले सञ्चार माध्यमहरुले धार्मिक शान्ति, सद्भाव र सहयोग अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास गर्नुभयो ।

dav

कार्यक्रममा उपस्थित मिडियाकर्मीहरुको तर्फबाट बोल्दै नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा नन्स्टप अनलाईन खवरका सम्पादक प्रभात चलाउनेले सबै समस्याहरुलाई सम्वादकै माध्यमबाट समाधान गर्न सकिने बताउनु भयो । साथै उहाँले शान्तिको प्रबद्र्धनको लागि क्ष्एँल् ले मिडियाका सम्पादकसँग पनि सम्वाद गर्नु आवश्यक रहेको खाँचो औल्याउनु भयो ।

dav

शान्तिको प्रबद्र्धन र प्रबलिकरण गर्ने उद्धेश्यले वि.सं.२०७६ साल असार ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अन्तरधार्मिक शान्ति महासंघ–नेपालको स्थापना भएको हो । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा सहअस्तित्वको माध्यमबाट समुदायमा शान्ति प्रबद्र्धन गर्न टेवा पुग्छ भन्ने मान्यताबाट अन्तरधार्मिक शान्ति महासंघ–नेपाल निर्देशित छ ।

युनाइटेड मिशन टु नेपालको सहयोगमा IPFN ले आगामी दिनमा यो सम्वादलाई अझ व्यापक बनाउँदै लैजाने बताएको छ । कार्यक्रममा सहभागी सञ्चारकर्मिहरुले आयोजकलाई विभिन्न जिज्ञासा राख्दै सुझाव समेत दिएका थिए ।

Facebook Comments