Thu. Apr 25th, 2024

सगरमाथा आधार शिविर र वरपरका क्षेत्रमा निःशुल्क वाइफाई राखिने

काठमाडौं, २०७७ असार २२ गते सोमबार

सगरमाथा आधार शिविर र वरपरका क्षेत्रमा निःशुल्क वाइफाई राखिने भएको छ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाई जडान गर्न ठेकेदार कम्पनी छानेको छ।

७ करोड रुपैयाँ खर्चेर ८ महिनाभित्र इन्टरनेट जोड्ने गरी ठेकेदार कम्पनी छानिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो। प्राधिकरणले इन्टरनेट जडानको ठेक्का एभरेस्ट लिंक प्रालिलाई दिने निर्णय गरेको हो। प्राधिकरणले यो कम्पनीसँग भ्याटबाहेक ६ करोड ९९ लाख ९ हजार रुपैयाँको सम्झौता गर्नेछ।

सगरमाथा आधार शिविसहित लोबुचे, लुमिया, मोञ्जो, नाम्चे बजार, फाख्दिङ, फेरिचे, तेङ्बोचेमा इन्टरनेट जडान हुनेछ। सगरमाथा आधार शिविरमा वायरलेस प्रविधिको इन्टरनेट र अन्य क्षेत्रमा अप्टिकल फाइबरमार्फत इन्टरनेट पुर्‍याइने प्रवक्ता अर्यालले बताउनुभयो। प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा भएको रकम प्रयोग गरी सगरमाथा आधार शिविरमा इन्टरनेट विस्तारको काम थालेको हो। यही कोषको रकम प्रयोग गरी प्राधिकरणले देशैभरका ग्रामीण क्षेत्रमा इन्टरनेट जडान गर्न १८ वटा प्याकेजमा काम गरिरहेको छ। त्यसमध्ये हालसम्म १६ वटा प्याकेजको काम जिम्मा दिइसकेको कान्तिपुर अनलाइनले लेखेको छ।

ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरी सञ्चालित परियोजनाको प्रगति सुस्त रहेको भन्दै संसद्को विकास तथा प्रविधि समितिले केही साताअघि प्राधिकरणलाई काममा तीव्रता दिन निर्देशनसमेत दिएको थियो ।

Facebook Comments