Fri. Apr 26th, 2024

‘प्रधानमन्त्री ओलीलाई काम गर्न देऊ’ भन्दै बुटवलमा प्रदर्शन

काठमाडौं, २०७७ असार १९ गते शुक्रबार

पार्टीभित्र आन्तरिक तनाव चुलिएको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका युवा तथा खेलाडीहरूले राष्ट्रियता, सरकार, प्रधानमन्त्री र पार्टी अध्यक्षको पक्षमा भन्दै बुटवलमा प्रदर्शन गरेका छन् ।

सरकारले राष्ट्रियतासँगै धेरै क्षेत्रमा ऐतिहासिक काम गरिरहेको भन्दै सरकार ढाल्न र पार्टी विभाजन गर्न नहुने आशयमा प्लेकार्डहरूसहित उनीहरूले प्रदर्शन गरेका थिए । सहभागीहरूले वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढलाउन पाइँदैन, प्रधानमन्त्री ओलीलाई काम गर्न देऊ, नेपाल फिजी बनाउन पाईंदैन लगायतका नाराहरू लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्रदर्शनमा प्रधानमन्त्री ओलीलाई रुचाउने समूहका पूर्व एमालेका युवा खेलाडीसँगै कतिपय पूर्व माओवादीका युवाहरू पनि सहभागी थिए । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश ५ को अगुवाई भएको प्रदर्शनपश्चात सभामा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्य, ट्रेड युनियन महासङ्घ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतम, एकेडेमी प्रदेश ५ का अध्यक्ष नरबहादुर घर्ती, उपाध्यक्ष मीनप्रसाद पोख्रेललगायतले बोल्नुभएको थियो ।

लकडाउन र कोरोना जोखिमका कारण प्रदर्शनमा सहभागी सबैले मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गरेको एकेडेमीका केन्द्रीय उपाध्यक्ष आचार्यले दाबी गर्नुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments