Fri. Apr 19th, 2024

बालुवाटार बैठक सकियो : सीमा अतिक्रमण मुद्दामा २१ नेताले राखे धारणा

काठमाडौं, २०७७ असार १३ गते शनिबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक मंगलबार बस्नेगरी सकिएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा सीमा अतिक्रमणको एजेन्डामा २१ स्थायी कमिटी सदस्यले धारणा राखेका छन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबार सीमा अतिक्रमण र संविधान संशोधनको विषयमा धारणा राख्ने नेताले भूमी फिर्तासम्म राष्ट्रिय एकता आवश्यक भएकोमा जोड दिएका छन्।

शनिबारको बैठकमा देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, वामदेव गौतम, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टई, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कर्णेलले आफ्नो विचार राखेका छन्।

शुक्रबारको बैठकमासमेत सीमा अतिक्रमणकै मुद्दामा १८ नेताले आफ्नो धारणा राखेका थिए। बैठकमा बोल्ने नेताहरुले नक्सा परिवर्तनमा ऐतिहासिक एकता भएको र भूमी फिर्तामा त्यही एकता आवश्यक भएकोमा जोड दिएका छन्।

बैठक दुई दिनपछि असार १६ गते बिहान ११ बजे पुनः बालुवाटारम बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार आइतबार मदन जयन्ती र सोमबार धान दिवस भएकाले बैठक दुई दिनका लागि स्थगित भएको हो।

बैठकको पहिलो दिन बुधबार पूरा समय उपस्थित भएका प्रधानमन्त्री केपी ओली बैठकको दोस्रो दिन शुक्रबार उपस्थित नै भएनन् । शनिबारको बैठकमा भने केही समय उपस्थित भएका प्रधानमन्त्री स्वास्थ्य अनुकुल नभएको भन्दै बाहिरिएका थिए ।

‘आज उपस्थित हुनु भएको थियो । स्वास्थ्य स्थिति अनुकूल नभएको जानकारी दिएर बाहिरिनुभयो’, प्रवक्ता श्रेष्ठले भने । प्रधानमन्त्रीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको अध्यक्षता गर्दै आएका छन् । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments