Tue. Jul 28th, 2026

मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट   

       

काठमाण्डू, २०८१ असोज ६ गते आइतबार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङले शिष्टाचार भेट गर्नुभएको छ ।

‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’ले यही सातादेखि  काठमाण्डूमा आयोजना गर्न लागेको दोस्रो हिन्दूकुश हिमालय मन्त्रिस्तरीय पर्वतीय शिखर सम्मेलनमा भाग लिन आउनुभएका मन्त्री छिरिङ र मन्त्री भण्डारीबीच आज सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । सो अवसरमा मन्त्री भण्डारीले नेपाल र भूटानबीच गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको तथा जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूपरिवेष्ठित भूबनावट, हिमाली भूगोल, विकासका चुनौती र जलवायु परिवर्तनको सामना लगायतका विषय हाम्रा साझा मुद्दा हुन् ।”
.
भूटान अति कम विकसित राष्ट्रबाट स्तरोन्नति भएकामा मन्त्री भण्डारीले भूटानी मन्त्री छिरिङलाई बधाई ज्ञापन गर्नुभयो । “भुटानको स्तरोन्नतिको यात्राले अन्य अतिकम विकसित राष्ट्रहरुका लागि विशेष गरी नेपालजस्ता भूपरिवेष्ठित राष्ट्रका लागि महत्वपूर्ण अनुभव हुन सक्छ, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन द्विपक्षीय संसदीय समूहले महत्वपूर्ण भूमिका खेल्न सक्छ, नेपालको सङ्घीय संसद्ले नेपाल–भूटान संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउन पाउँदा मलाई खुसी लागेको छ”, मन्त्री भण्डारीले भन्नुभयो ।

नेपाल र भूटानले दुई देशबीचको व्यापारको पूर्ण सम्भावनालाई साकार पार्न प्राथमिकतामा आधारित व्यापार वार्ता सम्झौता गरिरहेको उहाँले बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “नेपाल र भूटान दुवै संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन (नाम) र क्षेत्रीय सहयोगका लागि दक्षिण एसियाली सङ्गठन (सार्क) लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाका सदस्य रहेर र यी संस्थामा हाम्रा साझा विषयहरुमा पहल गरिरहेका छौँ ।”

राससका अनुसार   नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जलविद्युत् विकास, वातावरण संरक्षण, अर्गानिक कृषि प्रविधि, उद्योगको क्षेत्रमा भूटानी अनुभव, ज्ञान, सीप र प्रविधिबाट नेपालले लाभान्वित हुन चाहेको मन्त्री भण्डारीको भनाइ थियो । विकसित हुँदै गइरहेको व्यापार सम्बन्धले दुवै देशले आ–आफ्नो अर्थतन्त्रमा सकारात्मक योगदान गर्दै आर्थिक आदानप्रदानबाट प्राप्त हुने पारस्परिक लाभ लिन सकिने उहाँको भनाइ थियो । उहाँले नेपालले भूटानको सफल जलविद्युत् विकासबाट महत्वपूर्ण पाठ सिक्न सक्ने बताउनुभयो ।

भूटानका मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन क्षेत्रमा दुवै देशबीच सहकार्य आवश्यक रहेको औँल्याउनुभयो । उहाँले धार्मिक रुपमा भुटानी नागरिकलाई स्वयम्भू र लुम्बिनी भ्रमणमा नेपाल सरकारले सहजता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । साथै मन्त्री छिरिङले दुई देशबीच विद्युत्को क्षेत्रमा पनि सहकार्य आवश्यक रहेको बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read