Thu. Apr 25th, 2024

तिब्बती थांकामा नेपाली तत्व समेटिएकोमा अवलोकनकर्ता खुशी

काठमाडौं, २०७६ कार्तिक १८  गते सोमबार ।

लिच्छवि राजा अंशु बर्माकी छोरी थिइन् भृकुटी । छैटौं शताब्दीमा राजा स्रङचङ गम्पोसित बिहे भएर तिब्बत पुगेपछि उनी हरित तारा बनिन् र बौद्ध सम्प्रदायले थाङ्का कलामार्फत् उनको चित्र कोरेर आराधना गर्न थाले । गुरु पद्मसम्भव पनि आठौं शताब्दीमा नेपाल हुँदै तिब्बत पुगे, बौद्धधर्मको स्थापना गरे ।

यसपछि गौतम बुद्धलाई तिब्बतका बौद्धमार्गीले ‘शाक्यमुनि बुद्ध’ का रूपमा थाङ्कामा उतार्न थाले । नेपालमा जन्मिएका विभिन्न आध्यात्मिक व्यक्तित्व कसरी तिब्बती परम्परागत कलामा छाउँदै आइरहेका छन् ? राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘नेपाल–चीन थाङ्का कला प्रदर्शनी’ मा रोचक दृश्य देख्न सकिन्छ ।

प्रज्ञा प्रतिष्ठानमा शनिबारदेखि सुरु तीनदिने कला प्रदर्शनीमा तिब्बती कलाकारहरूले नेपाली भगवान्हरूलाई केन्द्र राखेर कोरेका चित्रहरू छन्। प्रदर्शनीमा सहभागी लोबु सिटा, निमा छिरन, चिया याङ, तेञ्जिन, डान जिङतजु, निमा काङ्मुहलगायत १२ जना चिनियाँ कलाकारहरूले हरिततारा, शाक्यमुनि, पद्मसम्भव, लोकेश्वर, महांकाललगायतका देवीदेउतालाई कलामा समेटेका कान्तिपुर अनलाइनले लेखेको छ।

तीव्र व्यावसायिकताका कारण नेपालमा यति मसिनोसँग निकै थोरै कलाकारले काम गर्छन्। नेपाली थाङ्का कलाको मूलथलो काठमाडौं र हिमाली क्षेत्र भए पनि चीनले धेरै पहिलेदेखि नै यसको संरक्षण, सम्वर्द्धन र विकास गरिरहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यको दाबी छ ।

प्रदर्शनीमा पाका कलाकार लोक चित्रकारका पौभा कृतिहरूसमेत राखिएका छन् । स्टोन कलरको माध्यममा नेवारी शैलीमा बनाइएका चित्र निकै आकर्षक छन् ।

Facebook Comments