Fri. Apr 19th, 2024

मोरङको कानेपोखरीमा स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु

काठमाडौं, २०७७ असार १२ गते शुक्रबार

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका-७ मा स्कोरपिओ गाडीको ठक्करबाट बिहीबार राति तीन जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओ दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए।

उनकाअनुसार सुरुमा स्कोरपिओले सोही दिशामा हिँडिरहेकी पैदल यात्री अन्दाजी ४०/४५ वर्षीया महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको डीएसपी गिरीले बताए। ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका-२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ।

पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको गिरीले जानकारी दिए। उनले दुर्घटनामा परेर मृत्यु भएपनि पहिचान नखुलेका दुई जनाका बारेमा थप सोधीखोजी गरेर बुझ्ने काम भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको बताए।

अन्नपूर्ण पोष्ट दैनिक अनलाईनका अनुसार स्कोरपिओका धनीसमेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएको छ। झापाको दमकमा दुई जनालाई छाडेर स्कोरपिओ इटहरीतर्फ फर्कँदा दुर्घटना भएको डीएसपी गिरीको भनाइ छ।

Facebook Comments