Thu. Apr 25th, 2024

चट्याङ पर्दा दुई दिनमा दश जनाको मृत्यु

काठमाडौं, २०७७ असार १२ गते शुक्रबार

मनसुन सक्रिय रहेका बेला बाढी, पहिरो, डुबान, चट्याङलगायत विभिन्न खालका प्राकृतिक विपत्तिजन्य घटना बढ्दैगएको छ । विगत २४ घण्टामा १६ वटा घटना भएका छन् ।

जसमध्ये पछिल्लो दुई दिनयता मात्र चट्याङका कारण दश जनाले ज्यान गुमाएका छन् । शुक्रबार मात्र तीन जनाको चट्याङका कारण मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । चट्याङका कारण मृत्यु हुनेमा खेतमा काम गरिरहेका र घरबाहिर रहेका मानिस बढी रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

गोरखापत्र अनलाईनका अनुसार उदयपुरमा तीन स्थान, सप्तरीमा दुई स्थान र कपिलवस्तुमा दुई स्थानमा गरी सात स्थानमा चट्याङ परेको हो । त्यस्तै, मनसुनका बेला पनि काठमाडौँ, बाँके, मकवानपुर, रामेछाप, कपिलवस्तु र डोटीमा गरी छ स्थानमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । जसबाट १३ लाख १० हजार रुपियाँ बराबरको क्षति भएको जनाइएको छ । यसैबीच, तराईका ठूला, मझौला तथा साना नदीमा आउँदो तीनदिन बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाका जलस्रोत विज्ञ सुनिल पोखरेलले जानकारी दिनुभयो ।

शुक्रबार बिहानको मापन अनुसार कन्काई, कोसी र यसका सहायक नदीमा बहाव बढ्दो छ । कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको छ ।

Facebook Comments