Fri. Sep 20th, 2024

सातौँ बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै   

बेलबारी (मोरङ), २०८१ असोज १ गते मंगलबार । मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गस्थित सातौँ बेलबारी आरजु राईस अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।

स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा दश टोलीको सहभागिता रहने आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा नेपालका आयोजक एल एक्स सिटी फुटबल क्लबसहित साबिक विजेता ब्रिगेड ब्वाइज क्लब काठमाण्डू, नेपाल पुलिस क्लब काठमाण्डू, चित्लाङ फुटबल क्लब काठमाण्डू, बुटवल लुम्बिनी फुटबल क्लब, झापा-११ फुटबल क्लब झापा, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर, रारा फुटबल क्लब राजारानी धनकुटा र भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाँउ वेस्ट वेङ्गाल रहने आयोजक समितिले जनाएको छ । बेलबारी नगरपालिका र अखिल नेपाल फुटवल सङ्घ (एन्फा)को मुख्य सहयोग र आरजु राईस मिलको मुख्य प्रायोजन रहने खेलको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख पाउनेछन् ।

यस गोल्डकपको प्रथम संस्करणदेखि छैठौँ संस्करणसम्म डाँगिहाट युथ क्लब आयोजकको नाम रहँदै आएकोमा यस पटक भने आयोजक क्लबको नाम परिवर्तन भइ एल एक्स सिटी फुटबल क्लब भएको छ । सातौँ संस्करणदेखि रनिङ कप गोल्डकपमा दुई तोला सुन र दुई किलो पाँच सय ग्राम चाँदी जडित ट्रफी रहने आयोजक समितिका अध्यक्ष विक्रम राईले जानकारी दिनुभयो । सो ट्रफी लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतीराज राईले आफ्नो स्वर्गीय बुबा मज एनबि रुङ्माहाङ राईको स्मृतिमा सौजन्य गर्नुभएको हो ।

उक्त रनिङ कप ट्रफी लगातार तीन पटकको विजेता टोलीले प्राप्तसमेत गर्ने अध्यक्ष राईले बताउनुभयो । हरेक दिनको खेलमा म्यान अफ दि म्याचसहित विधागत पुरस्कार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वोत्कृष्ट गोलकर्ता, उदयीमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षक रहने आयोजक समितिका महासचिव शम्भु बस्नेतले जानकारी दिनुभयो । रासस

Facebook Comments