Fri. Apr 19th, 2024

सम्मानका साथ नेपाली सेनाले ग-याे काेरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन

काठमाडौं, २०७७ असार ३ गते बुधबार

बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन गरिएको छ । बुधबार दिउँसो नेपाली सेनाको भैरवप्रसाद गणको विशेष तालिम प्राप्त टोलीले शव व्यवस्थापन गरेको हो । नेपाली सेनाको टोलीले सङ्क्रमित महिलाको शवलाई कोहलपुरस्थित मेडिकल कलेजको शिक्षण अस्पतालबाट प्लाष्टिकमा बेरेर मानखोला नजिकैको जङ्गलमा लगेर गाडेको छ ।

सङ्क्रमितको शवलाई बोक्न सवारी साधनको समस्या भएपछि बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले आफूले प्रयोग गर्ने पिकअप गाडी उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । सङ्क्रमित महिलाको शवलाई मानखोलाको जङ्गलमा एक्स्काभेटरले खाल्डो खनेर गाडिएको थियो । गत जेठ ३० गते दिउँसो कोहलपुर शिक्षण अस्पतालको आपतकालीन कक्षमा भर्ना भएकी बाँकेको बैजनाथ गाउँपालिका-६ का ४६ वर्षीया महिलाको सोमबार बेलुका साढे ६ बजे मृत्यु भएको थियो ।

दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब सङ्कलन गरिएको थियो । मङ्गलबार बेलुका आएको रिपोर्टमा ती महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना परीक्षणको रिपोर्ट आउनुभन्दा एक दिनपहिले नै ती महिलाको ज्यान गएको हो । मृत्यु भएपछि महिलाको शव अस्पतालकै शवगृहमा राखिएको थियो ।

ती महिलाको आइसियुमा राखेर उपचार गरिएकोले आइसियुलाई अहिले सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभएको छ ।

बैजनाथकी ती महिलाको मृत्युसँगै बाँकेमा कोरोनाबाट मर्नेको सङ्ख्या दुई पुगेको छ । यसअघि जिल्लाको नरैनापुरमा भारतको मुम्बईबाट आएका एक युवकको क्वारेन्टाइनमा मृत्यु भएको थियोे । झाडा पखाला लागेर नरैनापुर नयाँबस्तीका ती युवकको मृत्युपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

उनको शवलाई पनि सेनाको टोलीले राप्ती नदीको किनारमा एक्स्काभेटरले खाल्डो खनेर गाडेको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments