Sun. Oct 6th, 2024

हमास नेताको हत्या इजरायलको महँगो ‘रणनीतिक गल्ती’-इरान   

जेद्दाह (साउदी अरेबिया), २०८१ साउन २४ गते बिहीबार । इरानले गत साता तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियको हत्या गरेर इजरायलले महँगो ‘रणनीतिक गल्ती’ गरेको बताएको छ ।

साउदी तटीय सहर जेद्दाहमा इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को असाधारण सत्रमा भाग लिएको एक दिनपछि इरानका कार्यवाहक विदेशमन्त्री अली बघेरीले बिहीबार पत्रकार सम्मेलनमा भन्नुभयो, “तेहरानमा यहुदीहरूले जुन कृत्य गरेका छन् त्यो रणनीतिक गल्ती थियो किनभने उनीहरूले यसको गम्भीर मूल्य चुकाउनुपर्नेछ ।”

इजरायलले हानियाको मृत्युप्रति कुनै टिप्पणी नगरेको भए पनि इरानले जवाफी कारबाही गर्ने वाचा गरेपछि यस क्षेत्रमा तनाव उत्पन्न भएको छ ।

इजरायलले ‘तनाव, युद्ध र द्वन्द्वलाई अन्य मुलुकमा फैलाउन चाहेको’ आरोप लगाउँदै बघेरीले इजरायल इरानसँग लड्ने अवस्थामा नरहेको दाबी गर्नुभयो । “इजरायल इरानविरुद्ध युद्ध सुरु गर्ने स्थितिमा छैन”, उहाँले भन्नुभयो, “ऊसँग न क्षमता छ, न त ताकत नै ।”

सन्ताउन्न सदस्यी ओआइसीका विदेशमन्त्रीहरूको बुधबार भएको बैठकले हानियाको ‘जघन्य’ हत्याका लागि इजरायललाई ‘पूर्ण जिम्मेबार’ ठहर गर्दै घोषणापत्र जारी गरेको छ । कतारमा बसोबास गर्दै आउनुभएका हानिया गाजा पट्टीमा युद्ध अन्त्य गर्ने वार्तामा प्रमुख खेलाडी हुनुहुन्थ्यो ।

हमासको लेबनानी सहयोगी हिजबुल्लाहले पनि केही घन्टाअघि इजरायली आक्रमणमा हानिया र उसको सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिने वाचा गरेको छ ।  एएफपी

Facebook Comments