Thu. Sep 26th, 2024

वायनाड पहिरोमा फसेकामध्ये २१५ जना मृत फेला, २०६ जना व्यक्ति अझै बेपत्ता   

  तिरुवनन्तपुरम, केरला, २०८१ साउन १९ गते शनिबार । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पहिरो प्रभावित वायनाडमा फसेकामध्ये २१५ जना मृत फेला परेको र २०६ व्यक्ति अझै बेपत्ता रहेको बताउनुभएको छ । उहाँले उद्धार कार्य अन्तिम चरणमा रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिरोमा फसेकामध्ये २१५ जनाको उद्धार गरिएको छ भने २०६ जना अझै बेपत्ता रहेका छन् । पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका ८३ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको र कुल १० हजार ४२ जनालाई आश्रय शिविरमा सारिएको छ ।”

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जका अनुसार पछिल्लो अपडेट अनुसार ९८ पुरुष, ८७ महिला, ३० बालबालिका गरी २१५ जनाको मृत शरीर पहिरोबाट निकालिएको र १४३ शरिरका अङ्गहरु फेला परेका र हालसम्म २१२ शवको पोष्टमार्टमको प्रक्रिया पूरा भएको छ ।

मुख्यमन्त्रीले प्रारम्भिक चेतावनी प्रणालीलाई परिमार्जन गर्न आवश्यक रहेको र जलवायु परिवर्तनको ढाँचालाई ध्यानमा राखेर वर्णनात्मक चेतावनी प्रणालीको विकास गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

पहिरोले पुरै भत्किएको छुरलमालाको वस्तीलाई सारी अर्को वस्ती निर्माण गर्नुपर्ने देखिएको मुख्यमन्त्री विजयनले बताउनुभयो ।

यसैबीच, वायनाडबाट लोकसभामा निर्वाचित विपक्षी नेता राहुल गान्धीले चुरलमालामा १०० घर निर्माण गर्ने घोषणा गर्नुभएको छ ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैँयाले पनि १०० घर निर्माण गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले मुख्यमन्त्री दैवी प्रकोप राहत कोषमा चन्दा नेट बैंकिङ मार्फत गर्न सकिने बताउँदै र राहत कोषमा योगदान पुर्‍याउने कलाकार, प्रतिपक्षी दलका नेता, उद्योगी व्यवसायीलगायतलाई पनि धन्यवाद दिनुभएको छ । एएनआई

Facebook Comments