Sun. Sep 8th, 2024

कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिरहेको छ : नारायणमान बिजुक्छेँ   

भक्तपुर,२०८१ साउन ११ गते शुक्रबार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशको कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिरहेको बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण समस्याको रूपमा रहेको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरू अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम झन्झन् बढ्दै गइरहेको र उनीहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरेसम्म यो क्रमलाई रोक्न नसकिने धारणा राख्नुभयो ।

“रोजगारीदेखि शिक्षाका लागि विदेशिने क्रम बढ्दो छ । नेपालका कलेजहरू बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीलाई नेपालमै उच्च शिक्षा हासिल गरी देशकै लागि सेवा गर्न शिक्षकमार्फत मार्गनिर्देशन गरिरहनुपर्छ । रोजगारीका अवसर सिर्जना गर्न सरकारले पनि विशेष ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप मा.वि. र शारदा क्याम्पसमा २०८१ मा ५६ जिल्लाका एक हजार ६ सय ८० विद्यार्थी अध्ययन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रा.डा. सिद्धिवीर कर्माचार्यले सहिद स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरी रु चार लाख ४४ हजार चार सय ४४ बराबरको छात्रवृत्ति रकम कलेजलाई हस्तान्तरण गर्नुभएको थियो ।  रासस

Facebook Comments