Sun. Sep 8th, 2024

राष्ट्रिय सडक निर्माणमा सेनाको प्रयास   

काठमाण्डू, २०८१ साउन ५ गते शनिबार । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडक ट्र्याक खोल्ने कार्य पूरा गरेको छ ।

यस अवधिमा जडान गरिएका ३८ वटा बेलिबृज र खोलिएका ती ट्र्याक सडक विभागलाई हस्तान्तरण गरिसकिएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक धर्मेन्द्र झाले बताउनुभयो ।

नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकाको निर्देशनअनुसार सेनाले विकास निर्माणको कार्य गर्दै आएको छ ।

हाल सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुई वटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माण कार्यमा संलग्न छ । त्यसको कूल लम्बाइ २७४.५३७ किलोमिटर लम्बाइ छ । त्यसमध्ये रणनीतिक महत्वका चार वटा उत्तर-दक्षिण सडक करिडोर निर्माण कार्य सेनाको विकास निर्माण निर्देशनालयको प्रत्यक्ष मातहत अघि बढिरहेका छन् ।

हाल निर्माणाधीन आयोजना दार्चुला-टिङ्कर ७९ किमी, बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ ९२ किमी, कर्णाली करिडोर (लालीबगर-बगर-दुल्किकुन्ना खण्ड र घाँटीपारीचौर-बद्रीगाउँ-भुक्का खोला खण्ड) २२ किमी र खाँदबारी-किमाथाङ्का (च्याम्ताङ-घोघप्पा खण्ड) १०.५१ किमी हुन् । मुलुकको सर्वाधिक महत्वको काठमाण्डू-तराई-मधेस दु्रतमार्ग आयोजना (७०.९७७ किमी पनि नेपाली सेनाको व्यवस्थापनमा धमाधम निर्माण भइरहेको छ ।

सेनाले यसअघि सुर्खेत-जुम्ला ८८ किमी, बेनी-जोमसोम ९१ किमी, छिञ्चु-जाजरकोट ४५ किमी, बेंसीसहर-चामे ६५ किमी, नाग्मा-गमगढी ९४ किमी सडकको ट्र्याक खोलेको थियो । काठमाण्डू-तराई-मधेस दु्रतमार्गको सुरु पाइलट ट्र्याक ८० किमी, मैलुङ-स्याफ्रुबेंसी १७ किमी, जाजरकोट-डोल्प दुनै ११७ किमी, कालीगण्डकी करिडोर(गुल्मी-बागलुङ खण्ड ७५ किमी र कडाली करिडोर (खुलालु-लैफू-सलिसल्ला खण्ड १२२ किमी पनि नेपाली सेनाद्वारा सम्पादित सडक आयोजना हुन् । रासस

Facebook Comments