Fri. Oct 18th, 2024

पूर्वाधार विकास कार्यालयद्वारा सडक र पुल निर्माण   

म्याग्दी, २०८१ साउन ५ गते शनिबार । पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीमा १२ किलोमिटर पक्की सडक निर्माण गरेको छ । सो कार्यालयमार्फत क्रमागत, नयाँ बहुवर्षीय र सालबसालीसहित ८० भन्दाबढी योजना कार्यान्वयन भएका छन् ।

कार्यालयले आठ किलोमिटर सडक कालोपत्र गर्नुका साथै चार किमी सडक ढलान गरेको कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो । यस क्रममा दुई मोटरेबल पुल, एउटा झोलुङ्गे पुल तथा ३१ वटा कल्भर्ट निर्माण गरिएका छन् । बाह्र किमी सडक ग्राभेलसमेत गरिएको छ ।

अधुरै रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात रणनीतिक महत्वका सडक स्तरोन्नति र थप दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्न बहुवर्षीय योजना कार्यान्वयन भएको प्रमुख पौडेलले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा रु ६९ करोड ३२ लाख पुँजीगत बजेट रहेको सो कार्यालयले रु ५१ करोड ९६ लाख ७६ हजार खर्च गरेको छ ।

लेखा शाखाका प्रमुख त्रिविक्रम शर्माका अनुसार गलेश्वर-पिप्ले-भगवती-बेग सडकको पिप्ले-भगवती खण्डमा पाँच किमी कालोपत्र तथा केही ठाउँमा सडक ढलान र ग्राभेल गरिएको छ ।
मालिका गाउँपालिकाको वडा नं. १ र मङ्गलाको वडा नं. ५ लाई मालिकाको केन्द्र दरबाङ बजारसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण भएको छ । बेनी-दरबाङ-बिम-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका-७ र धवलागिरि गाउँपालिका-७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरिएको छ ।

बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-३ को सिमाना अर्जेखोलामा २५ मिटर मोटरेबल पुल निर्माणको क्रममा छ । मालिका गाउँपालिका-३ र ४ को सिमाना अधिभारामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्ने कार्य भइरहेको छ । अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी र वडा नं. ५ पाउद्वार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । रासस

Facebook Comments