Tue. Sep 17th, 2024

आजका तस्वीरहरु

काठमाण्डूको इन्द्रचोकमा मङ्गलबार चुरा, पोतेलगायत शृङ्गारिक सामग्री खरिदका क्रममा ग्राहक । साउन महिनामा विशेषगरी हिन्दू धर्मावलम्बीहरूले हरियो चुरा, पोतेलगायतका शृङ्गारिक सामग्री लगाउने परम्परा रहेको छ । तस्बिरः हरिराम भेटुवाल/रासस

चितवनको भरतपुर-२९ सिमलतालमा असार २८ गते शुक्रबार बिहान आएको पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुको शव नवलपुरमा भेटिन सुरु भएपछि नवलपुरतर्फ खोजीमा जुट्दै सुरक्षाकर्मी । जिल्लाको नारायणी नदी किनार, टापु तथा सम्भावित क्षेत्रमा खोजीकार्य तीव्र पारिएको छ । तस्बिरः टेकराज पोखरेल/रासस

पशुपतिनाथ मन्दिरको दर्शनका लागि मङ्गलबार साउने सङ्क्रान्तिका दिन लामवद्ध भक्तजनहरु । साउन महिना शिवको महिना भन्ने मान्यता अनुसार भक्तजनहरुको देशभरका शिव मन्दिरमा घुइँचो लाग्ने गरेको छ । तस्बिर : विमलबहादुर बिष्ट /रासस

मौसम खुलेपछि कास्कीको पोखरा महानगरपालिका-१८ स्थित मेथ्लाङबाट देखिएको पर्यटकीय राजधानी पोखराको दृश्य । तस्बिरः धनबहादुर गुरुङ/रासस

म्याग्दीको बेनी नगरपालिका -७ कुरिलाखर्कका कृषक दूध संकलन गरेर बजार पठाउने तयारी गर्दै । कुरिलाखर्क, बाँसबोट, घतान, पात्लेखेत क्षेत्रका १८ जना कृषकले दैनिक एक हजार पाँच सय लिटर दूध बेनी बजारमा आपुर्ति गर्दै आएका छन् । तस्बिरः सन्तोष गौतम/रासस

तनहुँको आँबुखैरेनी गाउँपािलका-४ ऐनापहरास्थित ढुङ्गामा बनाइएको आकृति । यहाँका ढुङ्गामा आकृति बनाएर पर्यटक आकर्षित गर्ने प्रयास थालिएको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस

जुम्ला सदरमुकाम खलङ्गा बजार, जुम्ला विमानस्थल र आसपसको दृश्य । तस्बिर : विजय रावत / रासस

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-२ स्थित गेल्डुङ बजारमा रहेको देउराली खुवा उद्योगमा खुवा बनाउन दूध घोट्दै व्यवसायी । उक्त बजारमा रहेका करिब दर्जन खुवा उद्योगले स्थानीय बजारमा प्रतिकिलो रु सात सयमा बिक्री गर्दै आएका छन् । तस्बिर: राजकुमार पराजुली/रासस

लमजुङ सुन्दरबजार नगरपालिका-७ पाउँदीमा नवनिर्मित १०८ फिट अग्लो सिद्धेश्वर महादेव मूर्ति । यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउनका लागि यस मूर्तिसहित विष्णु, गणेश भगवान् तथा महादेवको वाण बसाहाको मूर्ति निर्माण गरिएको छ । तस्बिरः जनक श्रेष्ठ/रासस

Facebook Comments