Mon. Apr 29th, 2024

जंगलमा गाडियो गुल्मीका कोरोना संक्रमितको शव

बुटवल, २०७७ जेठ ९ गते शुक्रबार

रुपन्देहीमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव जंगलमा गाडिएको छ ।

नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि अस्पतालबाट शब निकालेर शुक्रबार दिउँसो बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा गाडेको हो ।

मृतकको शव बिहीबार नै तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा जलाएर व्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाएका कारण तिलोत्तमाकै वडा नं १४ अमुवा पुल नजिक व्यवस्थापन गर्ने तयारी भएको थियो ।

पछि त्यहाँ पनि स्थानीयले सहमति दिएनन् । शुक्रबार सैनामैनाको सालझण्डीमा रहेको सामुदायिक वनमा व्यवस्थापन गर्ने प्रयत्न पनि सफल हुन नसकेपछि स्थानीय प्रशासनले कोरोना विशेष अस्पताल समेत रहेको बुटवल धागो कारखानाको पूर्वतर्फको जङ्गल क्षेत्रमा लगेर शव गाडेको हो ।

महामारीको समयमा शव व्यवस्थापन गर्न नदिंदा समाजमा गलत सन्देश जान्छ भनेर प्रहरीले ल्याएको कागजमा हस्ताक्षर गरिदिएको मृतकका भाइ मीनबहादुर कुँवरले बताए । कोरोना पोजेटिभ देखिएपछि अस्पतालले बिरामीको उपचारै नगरेको हुँदा छानबिन गर्नुपर्ने लगायतका माग यथावत रहेको उनले बताए ।

‘असहज परिस्थिति भएकाले शव उठाउनका लागि कागजमा हस्ताक्षर गरेका हौं, तर यसको मतलब हामीले माग छाडेका होइनौं’, उनले भने, ‘स्वाब संकलन गर्दा एकजना मर्चवारतिरबाट क्वारेन्टाइनबाट आएका बिरामीको पनि स्वाब संकलन गरिएको र त्यसको फाराम इमेलमार्फत पठाउँदा यताउता भएर रिपोर्ट पोजेटिभ आएको हुनसक्ने शंका पनि छ ।’

बिरामीको ढाडबाट पानी निकाल्नुको कारण र त्यसका सम्भावित जोखिमबारे अस्पतालले परिवारका आफन्तसंग कुनै जानकारी नगराउनुको कारण, कोरोना पोजेटिभ देखिएपछि गरिएको उपचार सेवाको सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने परिवारको माग छ । त्यस्र्तै अस्पतालका सञ्चालक आफैले बुधबार बिहान विरामीको मृत्यु भएको भनेर मिडिया र नगरप्रमुखलाई जानकारी दिनुको कारणबारे छानबिन गर्नुपर्ने मृतकका भाइले बताए ।

मृतकसंगै स्वाब संकलन गरिएका मर्चवारका पुरुषको पहिचान गरी पुनः परीक्षण गरिनुपर्ने पनि मृतकका आफन्तको माग छ । आफ्ना मागबारे प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललाई समेत जानकारी गराएको उनले बताए ।

मन्त्रीले ५ गतेपछिको बिल नतिर्न सुझाव दिएको र अन्य मागबारे निवेदन लेखेर दिन भनेको मृतकका अर्का आफन्त खिमबहादुर कुँवरले बताए । शव गाड्ने विषयमा पनि आफूहरुसंग कुनै सल्लाह नगरिएको उनले बताए ।

अस्पतालका २९ जनाकै रिपोर्ट नेगेटिभ

जेठ १ गते अस्पतालमा भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षका पुरुषको उपचारमा संलग्न डाक्टर, नर्स, आफन्त र एम्बुलेन्स चालकसहित २९ जना सबैको पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए । यसअघि अर्घाखाँचीको सन्धिखर्कको छाया पोलिक्लिनिकमा उनको उपचारमा संलग्न चिकित्सक र नर्ससहित १० जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गाउँमा बसेका र भारतबाट आएका कसैसंग सम्पर्कमा नपुगेका शिक्षकमा देखिएको कोरोना पोजेटिभ रिपोर्टबाट परिवारका सदस्य अचम्ममा परेका छन् ।

जेठ ८ गते साँझ मृतकको पुनः पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ । त्यसको रिपोर्ट आइसकेको छैन । अनलाईन खबरबाट

Facebook Comments