Sun. Oct 6th, 2024

नाटो स्थापनाको ७५ वर्ष पुरा   

वासिङ्टन, २०८१ असार २३ गते आईतबार । नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्मेलनको उद्देश्य ठुलो र बलियो गठबन्धनको विजय प्रदर्शन गर्नु रहेको थियो । तर युक्रेन युद्ध र एटलान्टिकको दुवै छेउमा चुनावी परिणामको छाँयाका विषयमा छलफल गर्न नेताहरू वासिङ्टनमा भेला हुने भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबारदेखि तीन दिनका लागि आयोजित सम्मेलनमा ३२ ट्रान्सएटलान्टिक राष्ट्र गठबन्धनका नेताहरूलाई स्वागत गर्ने तयारीमा हुनुहुन्छ ।

बाइडेनले एसियामा नाटोको बढ्दो भूमिकाको सङ्केत गर्न अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड र दक्षिण कोरियाका नेताहरूलाई पनि आमन्त्रित गर्नुभएको छ ।

विश्वव्यासपी समर्थन खोजी गरिरहनुभएका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की सम्मेलनको मुख्य पात्र हुनुहुनेछ । यद्यपि नाटोले युक्रेनलाई सम्मेलनको निमन्त्रणा दिने छैन ।

तत्कालिन सोभियत सङ्घविरुद्ध सामूहिक रक्षा प्रदान गर्न १९४९ मा स्थापित नाटो सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनलाई समर्थन गर्दै आफ्नो पुरानै स्वरुपमा फर्किएको छ ।

“युरोपेली सुरक्षाका लागि महत्वपूर्ण मोडमा भइरहेको यो शिखर सम्मेलन प्रारम्भिक योजनाहरूभन्दा धेरै फरक हुनेछ,” एक युरोपेली अधिकारीले बताउनुभयो ।

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडीजका युरोप, रूस र युरेशिया कार्यक्रमका निर्देशक म्याक्स बर्गम्यानले यो शिखर सम्मेलन ‘सबैभन्दा राम्रो साथै सबैभन्दा खराब समय’ मा हुन लागेको बताउनुभयो ।

“सबैभन्दा राम्रो समय यस अर्थमा कि रूसलाई रोक्न गठबन्धनका सदस्यहरूले बढी खर्च गरिरहेका छन्,” उहाँले भन्नुभयो । युक्रेन युद्धमा युरोपेली रक्षा खर्च बढ्ने र संयुक्त राज्य अमेरिकाको विश्वसनीयताबारे चिन्ता हुनसक्ने चुनौतीसँगै यसलाई खराब समय भएको बताउनुभयो । विगतमा रूसी शक्तिशाली नेता भ्लादिमिर पुटिनको प्रशंसा गर्दै आउनुभएका डोनाल्ड ट्रम्पले लामो समयदेखि नाटोलाई संयुक्त राज्य अमेरिकामा अनुचित आर्थिक बोझको रूपमा आलोचना गर्दै आउनुभएको छ ।

नाटोका निवर्तमान महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनका लागि सैन्य सहायताको समन्वयमा संयुक्त राज्य अमेरिकालाई मात्र नभई गठबन्धनलाई नै अगाडि राख्ने प्रयासको नेतृत्व गर्नुभएको छ ।

किएभ रूसविरुद्ध लामो युद्धको लागि तयारी गरिरहँदा स्टोल्टेनबर्गले गठबन्धनसँग विश्वसनीय र लगातार समर्थन सुनिश्चित गर्दै युक्रेनका लागि प्रति वर्ष कम्तिमा ४० अर्ब यूरो सैन्य सहायतामा प्रतिबद्ध रहने आशा गर्नुभएको छ ।एएफपी

Facebook Comments