Mon. Jul 1st, 2024

युवा पुस्तामा विदेश जाने हुटुहटी चलेको छः पूर्वप्रधानन्यायाधीश कार्की   

काठमाण्डू,२०८१ असार १४ गते शुक्रबार । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ पुस्तामा घर बेचेरै भएपनि विदेश जाने लहर चलेको धारणा व्यक्त गर्नुभएको छ ।

प्रा.डा. सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूती’ विमोचन समारोहमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय युवामा कक्षा १२ पढेपछि जसरी पनि विदेश जाने मानसिकता हावी भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थीमा मात्रै होइन अभिभावकमा पनि छोराछोरीलाई जसरी भए पनि विदेश पढाउने हुटहुटी चलेको छ, तर पहिले यस्तो थिएन ।” उहाँले प्रा. डा. सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूती’ पठनीय भएको भन्दै पुस्तकमा समेटिएका विषय मननयोग्य भएको उल्लेख गर्नुभयो । वि.सं. २०१२ सालदेखि अहिलेसम्म कति ठूलो परिर्वतन आयो, पहिले र अहिलेको पढाइको अन्तर पुस्तकमा समेटिएको उहाँको भनाइ थियो ।

लेखक प्रा. डा. केसीले ५० लाखभन्दा धेरै जनसङ्ख्या देश बाहिर रहेको अवस्थामा मुलुकमा सङ्कट आए कसले बचाउने भन्दै प्रश्न गर्नुभयो । उहाँले यी विषय पनि पुस्तकमा समेटिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मैले विभिन्न विषय समेटेर यो पुस्तक लेखेको छु, विचार के हो ? सिद्धान्त के हो ? पुस्तकमा समेट्ने प्रयास गरेको छु ।”

पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता भीम रावलले प्रा. डा. केसीको पुस्तक युवा पुस्ताका लागि उपयोगी भएको भन्दै शुभकामना दिनुभयो । पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी, लुम्विनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धर, सविता बस्नेत केसी, चिकित्सक सुन्दरमणि दीक्षितले प्राडा केसीको पुस्तक ‘स्मृति र अनुभूती’बारे धारणा राख्दै शुभकामना समेत दिनुभएको थियो ।

आयोजक सुनौलो नेपाल अनलाइनका कार्यकारी अध्यक्ष मोहराज पौडेलले त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गर्नुभएका प्रा.डा. केसी नेपालको राजनीतिक एवं सामाजिक क्षेत्रमा बुद्धिजीविका रुपमा स्थापित भएको बताउनुभयो । “भ्रष्टाचार माथिबाट बढार्नुपर्छ भने झैँ प्रा.डा. केसीले भ्रष्टाचारजन्य विकृतका लागि ठूला नेतामाथि औला ठड्याउदै आउनुभएको छ”, उहाँले भन्नुभयो, “प्रा.डा. केसीको यस पुस्तक नेपाली समाज र राजनीति बुझन चाहने सबैका लागि महत्वपूर्ण दस्ताबेजमा विश्वास छ ।”  रासस

Facebook Comments