Tue. Jul 2nd, 2024

एकीकृत समाजवादीप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष नेपाल   

काठमाण्डू,२०८१ असार १६ गते आईतबार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको बताउनुभएको छ ।

दशौँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले पनि लोकतन्त्र खतरामा रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनताको अधिकार स्थापित गर्न आत्मविश्वासका साथ पार्टीलाई जनतामा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस पार्टीले लोकतन्त्रको रक्षा तथा मुलुकको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । उहाँले उक्त पार्टीमा रहेका अनुभवी नेताहरुले आगामी दिनमा राष्ट्रिय राजनीतिमा सही दिशानिर्देश गर्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनवादी र समाजवादी क्रान्तिबारे जानकारी दिँदै राष्ट्रको विकास तथा सुशासनका लागि सबै दलहरुले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आमजनता र नेतृत्वका बीचमा मत फरक भएपछि समस्या आउने गरेको धारणा राख्दै दलहरु जनताप्रति जवाफदेही हुनुपर्ने विचार व्यक्त गर्नुभयो । रोजगारी वृद्धि गर्न, शिक्षा, सहकारीलगायतका राष्ट्रिय समस्या समाधानमा सबै दल एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले हजारौँ सहिदको बलिदानबाट प्राप्त अहिलेको व्यवस्थालाई कमजोर हुन नदिनुपर्ने बताउनुभयो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रमाथि स्वेच्छाचारी, कमिसन, भ्रष्टाचार बढ्दै गएकाले त्यसको न्यूनीकरण गर्न संविधान संशोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले लोकतान्त्रिक आन्दोलनमा एकीकृत समाजवादीका नेताहरुको ठूलो योगदान रहेको बताउँदै समाजवादी आदर्श अवलम्बन गर्ने नेताहरुले सोहीअरूप आचरण सरल बताउनुपर्ने बताउनुभयो ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विशेष परिस्थितिमा गठित पार्टीले देश र जनताको सेवामा क्रियाशील रहन सुझाव दिनुभयो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सम्पूर्ण राष्ट्रको विकास तथा जनताको समृद्धिका लागि पार्टीभित्र नयाँ वैचारिक दृष्टिकोण महाधिवेशनबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वाधिनता बलियो बनाउन सबै दलहरुबीच सहमतिको खाँचो औँल्याउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले जनताको सामाजिक आर्थिक रुपान्तरणका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभयो । रासस

Facebook Comments