Tue. Jul 28th, 2026

एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पु-याउनु पर्छ : अध्यक्ष ओली   

       

काठमाण्डू,२०८१ जेठ २६ गते शनिबार । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाण्डूका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

एमालेको काठमाण्डू जिल्लाको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पु-याउनुपर्छ भन्नुभयो । अध्यक्ष ओलीले काठमाडौँको पार्टी सङ्गठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गर्नुभयो । “यद्यपि गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ । पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुठ र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन । अबका दिनमा त्यस्ता झुठ र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ ।’’

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिल्लाको पार्टी कामको वस्तुनिष्ठ समीक्षा गर्न प्रतिनिधिलाई आग्रह गर्दै आगामी दिनमा जनमत हासिलमा श्रेष्ठ हुने गरी काम गर्नुपर्ने खाँचो औल्याउनुभयो । उहाँले हाल पार्टीभित्र नीति र नेतृत्वमा विवाद नभएकाले सकेसम्म सहमतिका आधार र नभएमा स्वच्छ प्रतिस्पर्धाका आधारमा अघि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाण्डूका जनताले एमालेलाई अग्रस्थानमा पु-याउनु पर्नेमा जोड दिनुभयो । एमाले काठमाण्डू इञ्चार्ज आनन्द पोखरेल र बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले अधिवेशनले पार्टीलाई आगामी निर्वाचनमा श्रेष्ठ हुन सक्ने गरी काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सो जिल्ला कमिटीका यसअघि अध्यक्ष वा सचिव भई नेतृत्व गरेका नेताहरु युवराज कार्की, सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल, सानुकुमार श्रेष्ठ, निर्मल कुइँकेल, कृष्ण राईलाई सम्मान गरिएको थियो । तीन दिनसम्म चल्ने अधिवेशनमा काठमाण्डूका दश पालिकाबाट गरी पाँच सय ८५ प्रतिनिधि सहभागी छन् । रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read