Sun. May 19th, 2024

प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट   

काठमाण्डू,२०८१ वैशाख २३ गते आईतबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुरियाउँदैं आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले नेपालको पूर्वाधार एवं आर्थिक-सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो ।

“नेपाल-जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु ।”

सो अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल-जापानबीच सम्बन्ध सदैव सौहार्द्रपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताका, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा सापकोटालगायत उच्च अधिकारीको सहभागिता थियो । रासस

Facebook Comments