Sat. Jul 27th, 2024

निर्मल पूर्जाद्वारा ७ महिनामै ८ हजार मिटर अग्ला १४ हिमाल आरोहणको कीर्तिमान ।

काठमाडौं, २०७६ कार्तिक १३ गते बुधबार ।

नेपाली पर्वतारोही निर्मल पुर्जाले चीनले ‘स्पेसल परमिट’ दिएपछि मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ बजे सिसापाङ्माको शिखरमा पाइला राख्दै ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको आरोहण सात महिनामै पूरा गर्दै कीर्तिमान बनाउनु भएको छ ।

आठ वर्ष लगाएर पोलिस आरोहीले सन् १९८७ मा बनाएको कीर्तिमानलाई उहाँले सात महिनामै छोट्याउनु भएको हो । ३६ वर्षीय पुर्जाले सिसापाङ्माको शिखरबाट ‘मिसन एचिभ्ड’ भन्दै सामाजिक सञ्जालहरुमा पोष्ट गर्नुभएको छ । उहाँले ८ हजार अग्ला सबै हिमाल १९० दिनमै आरोहण गर्दै कीर्तिमान बनाउनु भएको हो । यसअघि पोल्यान्डका जर्जी कुकुच्जाले ७ वर्ष ११ महिना १४ दिन लगाएर सन् १९८७ मा आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण सम्पन्न गर्नुभएको थियो ।
कान्तिपुर अनलाईनका अनुसार पुर्जाले आफ्नो टिमका मिङ्मा डेविड शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङले पनि सिसापाङ्माको आरोहण गरेको उल्लेख गर्नुभएको छ । सुरुमै आरोहणको स्वीकिृति नपाएकाले उहाँले आठ हजार मिटरका सबभन्दा होचो हिमालको ठूलै चुनौती बेहोर्नुपर्यो ।

उहाँले २३ अप्रिलमा अन्नपूर्णको आरोहरणसगै कीर्तिमान कायम गर्ने अभियान ‘प्रोजेक्ट पोसिबल’ थाल्नु भएको थियो । चौथो हिमालको रुपमा २२ मे मै विश्वकै सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएका पुर्जाले ११ हिमाल ९० दिनभित्रै चढ्नु भएको थियो । उहाँले ल्होत्से, मकालु र सगरमाथा ४८ घन्टाभित्रै आरोहण गर्दै रेकर्ड बनाउनु भयो । उहाँले यो अभियानको १३ औं हिमालको रुपमा २७ सेप्टेम्बरमा मनास्लुको चुचुरोमा पाइला राख्नु भएको थियो । ‘निम्स दाइ’को नामले चर्चित् पुर्जाको अभियानको अन्तिम शिखरको रुपमा गन्तव्य बन्यो सिासापाङ्मा । चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित सिासापाङ्मा आरोहणलाई यो सिजनको लागि चीनले रोक लगाएको थियो । त्यसैले पुर्जाले आरोहण स्वीकिृतिको लागि निक्कै हारगुहार गर्नुपर्यो । र, नेपाल सरकारको पहलमा चीनले १५ अक्टोबरमा आएर स्पेसल परमिट दिएपछि पुर्जा प्रोजेक्ट पोसिबलको अन्तिम गन्तव्यतिर लाग्नुभएको थियो ।

सगरमाथा आरोहणसँगै उहाँले डेथ जोनबाट केही आरोहीलाई उद्दार पनि गर्नुभएको थियो । जसले गर्दा उहाँको अभियानले विश्वव्यापी चर्चा पाएको थियो । म्याग्दीका पुर्जा सन् २००३ मा बेलायती सेनाको गोर्खा पल्टनमा भर्ती हुनु भएको थियो । त्यसपछि २००९ मा रोयल मरिनमा आबद्ध हुनुभएका उहाँले गोर्खा भर्तीको २०० वर्ष पुगेको अवसरमा सन् २०१७ मा १३ सैनिक आबद्ध ‘गोर्खा एक्सिपिडिसन’को नेतृत्व गर्नुभएको थियो । टिमको सफल आरोहणसँगै उहाँले बेलायतको प्रतिष्ठित् अवार्ड एमबीई र नागरिक सम्मान पाउनु भएको थियो । उहाँले पर्वतारोहणमा केन्द्रित हुने भन्दै गत वर्ष बेलायती सेना छाड्नु भएको थियो ।

कुन हिमाल कहिले आरोहण ?

२३ अप्रिल, अन्नपूर्ण (८,०९१ मिटर), नेपाल
१२ मे, धौलागिरि (८,१६७ मिटर), नेपाल
१५ मे, कन्चन्जंगा (८,५८६ मिटर), नेपाल
२२ मे, सगरमाथा (८,८४८ मिटर), नेपाल
२२ मे, ल्होत्से (८,५१६ मिटर), नेपाल
२४ मे, मकालु (८,४८१ मिटर), नेपाल
३ जुलाई, नांगा पर्वत (८,१२५ मिटर), पाकिस्तान
१५ जुलाई, गासेरब्रम पहिलो (८,०८० मिटर), पाकिस्तान
१८ जुलाई, गासेरब्रम दोस्रो (८,०३५ मिटर), पाकिस्तान
२४ जुलाई, के टु (८,६१४ मिटर), पाकिस्तान
२६ जुलाई, ब्रोड पिक (८,०५१ मिटर), पाकिस्तान
२३ सेप्टेम्बर, चो यू (८,१८८ मिटर), नेपाल
२७ सेप्टेम्बर, मनास्लु (८,१६३ मिटर), नेपाल
२९ अक्टोबर, सिसापाङ्मा (८,०२७ मिटर), चीन

Facebook Comments