Tue. May 14th, 2024

चीनको कान्च प्रिफेक्चर र नेपालका व्यवसायीबीच व्यापार बिस्तारबारे छलफल

रमेश हतुवाली/काठमाण्डू, २०८१ वैशाख १६ गते आईतबार । चीनको कान्च प्रिफेक्चरका सरकारी प्रतिनिधि र नेपालका निजी क्षेत्रका प्रतिनिधिहरुबीच दुई देशको व्यापार विस्तार, सांस्कृतिक आदान प्रदान, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रमा उत्पादन हुने जडीबुटीहरुको संरक्षण र विकासका सम्भावना लगायतका विभिन्न विषयमा छलफल भएको छ ।

आज काठमाडौंमा आयोजित भेटघाट तथा परिचयात्मक कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरुले नेपाल र चीनको सछुवान प्रान्तको कान्च प्रिफेक्चर क्षेत्रका संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावनाका विभिन्न विषयमा व्यापक छलफल गरेका हुन् । सो छलफलमा व्यापार, संस्कृति र पर्यटन सम्बन्धी आदानप्रदानका बारेमा पनि सहभागीहरुले विचार व्यक्त गरेका छन् ।

सो छलफलमा बोल्नुहुँँदै चीनको सछुवान प्रान्तको कान्च प्रिफेक्चरस्थित चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव यूआन मिङक्वाङ्गले कान्च प्रिफेक्चर र नेपाल प्राकृतिक सौदर्यले भरिपूर्ण भएको उल्लेख गर्नुहुँदै दुवैदेशबीच विद्यमान ऐतिहासिककालदेखिको धार्मिक तथा साँस्कृतिक सम्बन्धबारे चर्चा गर्नुभयो । महासचिव युआनले कान्च प्रिफेक्चर र नेपालको राजधानी काठमाडौं तथा नेपालको प्रमुख पर्यटकीय गन्तब्य पोखराको भूगोल र संस्कृतिमा एकरुपता भएको पनि बताउनु भयो ।

महासचिव युआनले दुवै देशबीच परम्परादेखि चलिआएको चिया संस्कृति, पर्यटन क्षेत्रको आदान प्रदान र बहुमुल्य हिमाली जडिबुटीहरुको व्यापार विस्तारलाई एकअर्का देशमा पुर्याउने समय आएको बताउनु भयो । साथै महासचिव युआनले पवित्र गान्जी पठारको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र विशेषता उद्योगहरूको अनुभूति गराउन, पर्वतीय पर्यटन, चिया संस्कृति आदानप्रदान, जातीय शिल्प र अन्य क्षेत्रमा सहयोगलाई अझ राम्रोसँग प्रर्वद्धन गर्न र कार्यान्वयन गर्न आफुहरु ईच्छुक रहेको भन्दै यी सबै क्षेत्रमा नेपाली व्यवसायीहरुसँग मिलेर काम गर्न चाहेको बताउनु भयो । उहाँले कान्च प्रिफेक्चर पोखरा महानगरपालिकासँग पहिलो भगिनी सम्बन्ध गाँस्ने शहर भएको जानकारी पनि दिनुभयो ।

छलफलमा बोल्नु हुँदै राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर राम कुमार फुयाँलले नेपालले चीनको कान्च प्रिफेक्चरसँग सहकार्य गर्दा विभिन्न क्षेत्रमा धेरै फाईदा लिन सक्ने बताउनु भयो । ऐतिहासिक कालदेखि दुवै देशबीच साँस्कृतिक तथा धार्मिक सम्बन्ध कायम भएकोले अबका दिनहरुमा चीनसँगको व्यापार विस्तार गर्न नेपालका प्राकृतिक साधन र स्रोतबाट उत्पादिन बस्तुहरु कान्चसम्म पुर्याउन पनि छलफलले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

छलफलमा सहभागी अधिकांश वक्ताहरुले दुवैदेशका नागरिकहरुबीच भाषाको समस्या रहेकोले दुवै देशका युवावर्गले एकअर्का देशको भाषा र संस्कृतिको अध्ययन गर्दै जनताको तहसम्म सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

सो छलफलमा नेपाल आयुर्वेदिक औषधि उत्पादक संघका अध्यक्ष सुमन पाण्डे, चिया तथा कफी विकास बोर्डका प्रमुख डा. दीपक खनाल, प्राध्यापक डाक्टर बालमुकुन्द रेग्मी, बुद्ध धर्म तथा बुद्ध साहित्य विज्ञ पूण्य प्रसाद पराजुली, चीनको सता काउन्ट्री जनसरकारका प्रमुख यीसी चरन, स्याङछङ काउन्ट्री जनसरकारका प्रमुख निमा छिरी, कान्च प्रिफेक्चर स्वास्थ्य आयोगका अध्यक्ष लि वे, लि थाङ काउन्ट्री जनसरकारका प्रमुख सल्याङ छिङफी र कान्च प्रिफेक्चर वैदेशिक मामिला कार्यालय हङकङ मकाओ शाखाका प्रमुख लानखा पिनचन्, सिनो नेपाल मिडिया सोसाईटीका अध्यक्ष धु्रव पौडेल लगायतले दुवै देशमा उत्पादित चीया, कफी र नेपालको हिमाली क्षेत्र र कान्चको हिमाली क्षेत्रका विभिन्न पक्षमा सहयोगका सम्भावनाबारे छलफल बोल्नु भएको थियो ।

कान्च प्रिफेक्चरबारे जानकारी दिने उद्धेश्यले ४० वटा विभिन्न क्षेत्रसँग सम्बन्धित फोटोहरु पनि प्रदर्शन गरिएको सो कार्यक्रम चिनियाँ कम्युनिष्ट पार्टीको कान्च प्रिफेक्चर कमिटी र कान्च प्रिफेक्चर जनसरकारले आयोजना गरेका थिए । नेपालस्थित सिनो नेपाल मिडिया सोसाईटी र चीनस्थित नेपाल राष्ट्रिय पाभिलियनको सहआयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

Facebook Comments