Tue. May 14th, 2024

चिनियाँ कला र संस्कृतिबारे नेपाली विद्यार्थीहरुलाई जानकारी

रमेश हतुवाली/काठमाण्डू, २०८१ वैशाख १६ गते आईतबार । नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रले नेपालका विभिन्न विद्यालयहरुमा चिनियाँ भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि चिनियाँ कला र संस्कृतिबारे जानकारी दिएको छ ।

चीनको राजधानी पैचिङमा रहेको विश्व प्रसिद्ध फरबिडन सिटीस्थित दरबार संग्रहालयमा कार्यरत कर्मचारीहरु वाङ स्या र हान यि लिनले काठमाडौं महाराजगञ्जस्थित साँस्कृतिक केन्द्रको कार्यालयमा आज काठमाडौंको एल.आर.आई. स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई चीनको प्राचिन संस्कृति र विश्व प्रसिद्ध चिनियाँ कलाकौशलबारे जानकारी दिनुभएको थियो । उहाँहरुले विद्यार्थीहरुलाई फरबिडन सिटीमा विद्यमान रहेका विभिन्न राजवंशका दरवारहरु, चोकहरु, पर्खालहरु र मन्दिरहरुमा कुँदिएका विश्व सम्पदा सूचिमा सुचीकृत कलाकौशल बारे विस्तृत रुपमा जानकारी दिनुभएको थियो । त्यसैगरी उहाँहरुले चीनको प्रसिद्ध पेपर कटिङ, रिङ बनाउने तरिका लगायतका विषयमा व्यवहारिक ज्ञान समेत दिनुभएको थियो । सो कार्यक्रमा सहभागी विद्यार्थीहरुले यस्ता कार्यक्रमहरुको माध्यमबाट नेपालको उत्तरी छिमेकी चीनको ऐतिहासिक अवस्था र प्राचिन संस्कृतिबारे बुझ्न सहयोग पुर्याउने प्रतिक्रिया दिएका छन् ।

चिनियाँ साँस्कृतिक केन्द्रमा चिनियाँ भाषा अध्ययापनमा लामो समय विताउनु भएका शिक्षक जितेश महर्जनले नेपाल र चीनबीचको साँस्कृतिक तथा भाषिक आदान प्रदानलाई जनस्तरसम्म पुर्याउन यस्ता कार्यक्रहरुको आयोजना गर्ने बताउनुभयो ।

नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रले नेपाल र चीनबीचको जनता जनताको सम्बन्धलाई अझ प्रगाढ बनाउन चिनियाँँ भाषाको निशुल्क अध्यापन र नेपाल तथा चीनको पर्यटन प्रवद्र्धनमा लामो समयदेखि काम गरिरहेको छ ।

Facebook Comments