Tue. Apr 23rd, 2024

“भोजपुर दर्पण महाग्रन्थ” भोजपुर जिल्लालाई चिनाउने विशाल, वृहत् र प्राज्ञिक परियोजना हो- डा. भक्त राई

काठमाडौं, २०७७ बैशाक १५ गते सोमबार

डा.भक्त राई

के हो “भोजपुर दर्पण महाग्रन्थ” ?

भोजपुर जिल्लामा जन्मेर काठमाडौ उपत्यकामा बसोबास गर्ने भोजपुरेहरुद्वारा स्थापित “भोजपुर मातृभूमि बौद्ध जोरपाटी एकता समाज” नामक संस्थाले एउटा वृहत् खोज अनुसन्धान गरी भोजपुर जिल्लाको समग्र पहिचान झल्कने “भोजपुर दर्पण महाग्रन्थ” प्रकाशन गर्ने उदेश्यले विगत एक वर्षदेखि धमाधम काम गरिरहेको छ । यो महाग्रन्थ भोजपुर जिल्लालाइ चिनाउने हालसम्मकै विशाल, वृहत् र प्राज्ञिक परियोजना हो । यस महाग्रन्थले मूलतः देहाय अनुसारको विषय र क्षेत्रलाई समेट्ने छ –

१) मानवशास्त्रीय अध्ययन
भोजपुर जिल्लामा( साविक ६३ गाविस हाल ९ पालिका) सर्वप्रथम कहिलेदेखि मानवजातिको आगमन भयो र कहिलेदेखि मानववस्तीको शुरूवात भयो? यस जिल्लामा सर्वप्रथम कुन जातिका मानिसहरुको आगमन भयो? यस जिल्लामा राईहरु कहिलेदेखि बसोवास गर्न थाले? मगर, गुरुङ्हरु कहिले आए? शेर्पा, तामाङहरु कहिले आए? उपत्यकाबाट नेवारहरु कहिले आए? टकसारका शाक्यहरु ( बाँडा) र कुसुलेहरु कहिले आए? दलित भन्ने गरिएको कामी, दमाई, सार्कीजस्ता कर्मशील जातिहरु कहिले आए? भुजेल, क्षेत्री, बाहुनहरु कहिले आए ? यी सम्पूर्ण जातिको मानवशास्त्रीय अध्ययन गरिनेछ ।

२) साँस्कृतिक अध्ययन
भोजपुर जिल्लामा कुन कुन जातिका मानिसहरु बसोबास गर्दछ्न् र ती जातिका भाषा, धर्म, परम्परा , खानपान, भेषभुषा, नाचगान, चाडपर्व , गीत-सङगीत,आस्था-अनुष्ठान आदि मुर्तअमुर्त संस्कृतिको वृहत् साँस्कृतिक अध्ययन गरिनेछ

३) ऐतिहासिक अध्ययन
भोजपुर जिल्लाको नामकरण कसरी भयो? कहिले भयो? भोजपुर जिल्लाको क्षेत्रफल र सिमाना कसरी,कहिले कोद्वारा कायम भयो ? भोजपुर हुनुपूर्व यसको नाम के थियो? आदि विषयमा गम्भीर अध्ययन हुनेछ ।

४) भौगोलिक अध्ययन
भोजपुर जिल्लाको भूबनोट केकस्तो छ? यहाको ढुङगामाटो,पहाड,समथर भाग, हावापानी, खनिज तत्त्व , खानी तथा नदीनाला, भिरपाखा पखेरीहरुको खोजी गरिनेछ । भोजपुर जिल्लाका सिमाना,क्षेत्रफल, उचाई, देशान्तर, आक्षम्श आदि समग्र भौगोलिक अध्ययन गरिनेछ ।

भोजपुर बजार

५) शैक्षिक अध्ययन
भोजपुर जिल्लामा औपचारिक शिक्षाको प्रारम्भ हुनुपूर्व शिक्षण पद्धति र यसको विकास केकस्तो थियो ? स्कुल स्थापना पछिको शिक्षणपद्धति र विकास केकसरी भइरहेको छ? हाल स्कुल, कलेज र अन्य शिक्षण संस्थाहरुको सङ्ख्या र अवस्था केकस्तो छ? निजी शैक्षिक संस्थाहरुको उपस्थिति र भूमिका केकस्तो छ? जिल्लामा कतिजनाले विद्यावारिधिजस्तो उच्च तहको अध्ययन गरेको छ? कतिजना प्राध्यापक भएका छन् कति जना मेडिकल डा. र इन्जिनियर छन् ? भोजपुरमा जन्मिएर देशकै शैक्षिक क्षेत्रमा योगदान पुर्याउने ब्यक्ति र संस्थाहरु केकति छन् खोजी गरिने छ ।

६) भोजपुर जिल्लाको राजनैतिक इतिहास
किरातकालपूर्वको राजनैतिक अवस्था,किरातकालीन राजनैतिक अवस्था,नेपाल एकीकरण र त्यसपछिका राजनैतिक अवस्था,राणाकालीन राजनैतिक अवस्था हुँदै २००७ सालको क्रान्ति र २००७ सालदेखि २०१७ सालसम्म, २०१७ देखि २०४६ सम्मको पन्चायती राजनैतिक अवस्था, २०४६ देखि २०६३/६३ को राजनैतिक अवस्था, २०५२ देखि २०६२/६३ को माओवादी जनयुद्ध र २०६२/६३ पछि हालसम्मको राजनैतिक अवस्थाको बारेमा छुट्टाछुटै अध्ययन गरिनेछ । भोजपुर जिल्लामा भएको यी सम्पूर्ण राजनैतिक गतिविधि र ती गतिविधिमा सम्लग्न पार्टी र नेताहरुको भुमिकाकोबारे समेत अधययन गरिनेछ ।

७) भोजपुर जिल्लाको साहित्यिक इतिहास
भोजपुर जिल्लामा भएको सम्पूर्ण साहित्यिक ( खस नेपाली भाषा र अन्य मातृभाषाको समेत) गतिविधिहरुको अध्ययन गरिनेछ । साहित्यको विभिन्न विधामा कलम चलाउने सर्जक र तिनका कृतिको समेत समीक्षा गरिनेछ । साहित्यिक आन्दोलन, साहित्यिक ब्यक्ति,समालोचक र साहित्यिक संघसंस्थाको समेत खोजी गरिनेछ ।

८) गीत-सङगीत
भोजपुर जिल्लामा भएको गीत-सङगीतको गतिविधि, विकास र योगदानकोबारेमा समीक्षा गरिनेछ । सङ्गीतका तिनैओटा विधा गायन, बाधवादन र नृत्य क्षेत्रमा कृयाशील ब्यक्तिहरुको अभिलेखीकरण गरिनेछ । गीत-सङगीतको क्षेत्रमा कृयाशील संस्था, क्लब, ब्याण्ड,सङ्गीत प्रशिक्षण केन्द्र,भजनकीर्तन मण्डल आदि संस्था र ब्यक्तिहरुको समेत खोजी गरिनेछ ।

९) औद्योगिक अध्ययन

भोजपुर जिल्लामा स्थापना भएको घरेलु तथा ठूलो उधोगहरुको खोजी गरिनेछ जस्तै: तामा उधोग, खुकुरी उधोग,अन्य धातुजन्य उधोग, माटोको सामग्री निर्माण गर्ने उधोग, काठजन्य उधोग,कागाजजन्य उधोग,कपडाजन्य उधोग,उनीजन्य उधोग, खाधसम्बन्धी उधोग, हस्तकलासम्बन्धी उधोग आदि उधोगधन्दाको खोजी गरिनेछ । यसका अतिरिक्त अन्य देहायअनुसारको विषय र क्षेत्रमा खोजी गरिनेछ –

१०) कला र कलाकारिताको क्षेत्रमा भोजपुर

११) पत्रकारितामा भोजपुर

१२) भोजपुर जिल्लामा दलितजातिको उपस्थिति र अवस्था

१३) माझ किरात र किराती संस्कृति

१४) खिकामाछा र भोजपुरको इतिहास

१५) खेलकुद क्षेत्रमा भोजपुर

१६) विधुत क्षेत्रमा भोजपुर

१७) भोजपुरमा सडक यातायात

१८) भोजपुर जिल्लामा सामाजिक संघसंस्थाहरु

१९) भोजपुर जिल्लामा मातृभाषाको वर्तमान अवस्था

२०) न्याय क्षेत्रमा भोजपुर

२१) भोजपुरमा महिला जागरण

२२) नेपालको प्रशासनिक क्षेत्रमा भोजपुरको योगदान

२३) भोजपुर जिल्लामा अवस्थित गढी र थुमहरुको अध्ययन

२४) भोजपुर जिल्लामा प्रचलित चौतरा,पाटीपौवा संस्कृति

२५) भोजपुर जिल्लामा सुरक्षा पद्धति र विकास

२६) भोजपुर जिल्लाको आर्थिक गतिविधि र अवस्था

२७) भोजपुर जिल्लामा पर्यटन

२८) सूचना तथा सञ्चार क्षेत्रमा भोजपुर

२९) भोजपुर जिल्लाको स्वास्थ्यस्थिति

३०) भोजपुर जिल्लामा वन, वन्यजन्तु र जडिबुटी

३१) भोजपुर जिल्लामा कृषि क्षेत्रको अवस्था

३२) भोजपुर जिल्लाको जनसंख्या

३३) भोजपुरका प्रमुख हाट, बाजार र मेलापर्वहरु

३४) विभिन्न ब्यक्ति र ब्यक्तित्त्वहरुको अध्ययन जस्तै: बालागुरु षडानन्द , योगमाया,रामप्रसाद राई, नारदमणि थुलुङ,श्रीपाल राई, इन्द्रप्रसाद श्रेष्ठ , ध्यानबहादुर राई, दिवानसिङ राई,मुक्तिप्रसाद चापागाई आदि ।

३५) भोजपुर जिल्लामा जन्मिएर सन्सारका विभिन्न मुलुकमा बसोबास गर्नु हुने भोजपुरे दाजुभाइ तथा दिदीबहिनीहरुलाइ समेत यो महाग्रन्थमा समेट्ने प्रयास गरिएको छ । यसका लागि बेलायत, अमेरिका, हङ्कङ, अष्ट्रेलिया, कोरिया र खाडी मुलुकलगायतका देशमा प्रतिनिधिको छनौट गरिएको छ भने कतिपय देशको प्रतिनिधि छनौट कार्य भइ रहेको छ । कुन कुन देशमा केकति हामी भोजपुरे बस्छौँ ? कुन कुन पेसा र ब्यबसायमा भोजपुरेहरु आबद्दता छन् ? उनीहरुको खोजी गरिनेछ । डायस्पोरामा रहेर भाषा, साहित्य, संस्कृति,दर्शन, खेलकुद, व्यापार, समाजसेवा, राजनीति, चिकित्सक अदि अनेक क्षेत्र काम गर्ने भोजपुरेहरुको समेत खोजी गरि अभिलेख राखिनेछ ।

३६) दुई नगरपालिका र ७ गाँउपालिकाको विस्तृत परिचय झल्कने गरि प्रत्येक पालिकाको चिनारी दिइनेछ ।

३७) नेपाली राजनीतिमा, निजामती क्षेत्रमा, सैनिक र प्रहरी सेवामा र अन्य विधामा उच्च तहमा पुगी राष्ट्रको सेवामा समर्पित र प्रतिष्ठित ब्यक्तित्त्वहरुको समेत जीवनी तयार पारिनेछ ।

यसरी भोजपुर जिल्लाको समग्र क्षेत्रमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्ययन, अनुसन्धान गराई महाग्रन्थ तयार पारिने हुँदा यो ग्रन्थ आधिकारिक र प्रामाणिक हुनेछ । यस प्रकारको महत्त्वपूर्ण अध्ययन,अनुसन्धान भोजपुर जिल्लामा मात्र होइन नेपालका अन्य जिल्लामा समेत खासै भएको देखिदैन । किनभने यो सजिलै गर्न सकिने काम होइन । त्यसैले भोजपुर जिल्लाको इतिहासमा यस प्रकारको ऐतिहासिक काम प्रथम पटक भइरहेको छ । यो सम्पूर्ण जिल्लावासीको लागि गौरवको विषय हो । यो काम स्थानीय सरकारले गर्नु पर्ने हो तर स्थानीय सरकारसङ्ग पर्याप्त बजेट, विज्ञ विद्वानविदुषी,लेखक, सम्पादक आदि नहुने र समन्वय गर्न समेत कठिन हुनेहुँदा यो काम स्थानीय निकायबाट हुन निकै कठिन हुन्छ त्यसैले यो कामको लागि स्थानीय तहबाट सहयोग हुनु अत्यावश्यक देखिन्छ । किनभने स्थानीय क्षेत्रको कृषि,पर्यटन , उधोगधन्दा, खेलकुद ,संस्कृति , रोजगार र समृद्धिको लागि यो महाग्रन्थ आधारशीला हुनेछ । सन्सारभर छरिएर रहेका भोजपुरेहरुले आफ्नो मातृभूमिमा,आफ्नो क्षेत्रमा लगानी गर्न चाहे कुन क्षेत्रमा केकस्तो सम्भावना छ सोको जानकारी प्राप्त गर्न सक्नेछन् । उनीहरुले आफ्ना सन्ततिहरुलाइ भोजपुर केहो भन्नेबारे विस्तृत रूपमा यो महाग्रन्थ मार्फत बताउन सक्नेछन् । भोजपुरेले मात्र होइन सम्पूर्ण नेपालीहरुले वा सन्सारभरका मानिसहरुले भोजपुर जिल्लालाइ नजिकबाट नियाल्न सक्नेछन् । आजभन्दा ५० वर्ष पछि, १०० वर्ष पछि पनि भोजपुर जिल्लाको समग्र परिचय झल्कने ऐनाको रूपमा यो महाग्रन्थ रहिरहनेछ । त्यसैले यो भोजपुरेहरुको लागि मात्र होइन सिङगो राष्ट्रकै सम्पत्तिको रूपमा यो महाग्रन्थ हुनेछ भन्ने कुरामा हामी ढुक्क छौँ ।

त्यसैले यो ऐतिहासिक अभियान महाग्रन्थ लेखनमा जजस्ले लेख्ने ऐतिहासिक अवसर प्राप्त गर्नु भएको छ उहाँहरुले चाँडोभन्दा चाँडो आआफ्नो जिम्मेवारी पूरा गर्नु हुनेछ भन्ने समेत विश्वास लिएका छौँ । यो जिम्मेवारी आफ्नो मातृभूमिप्रतिको सेवा हो, श्रद्धा हो र महत्त्वपूर्ण अवसर पनि हो । आधाभन्दा बढी विद्वान् लेखकहरुले आआफ्नो जिम्मेवारी पुरागरिसक्नु भएको छ भने भोजपुर जिल्लाका सबै स्थानीय सरकारहरुले यो महाग्रन्थमा एक्यवद्धता जनाइ सक्दो सहयोग गर्ने वचनबद्दता समेत ब्यक्त गरिसकेका छन् । यो महाग्रन्थ वास्तवमा उहाहरुकै लागि अर्थात भोजपुर जिल्लाका स्थानीय तहहरुकै लागि हो ।

यस प्रकारको महाअभियान र ग्रन्थ लेखन सधैं र सबैले गर्न सक्ने कुरा पनि हुदैन त्यसैले यो आफ्नो जन्मभूमिको लागि थालिएको ऐतिहासिक परियोजनामा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरौँ । यो सफलता तमाम हामी भोजपुरेहरुको सफलता हो, नेपाल राष्ट्रको सफलता हो । आजलाइ यति ।

सम्पादक द्वय
डा.भक्त राई
प्राज्ञ शशी लुमुम्बु
भोजपुर दर्पण महाग्रन्थ
काठमाडौ नेपाल ।

Facebook Comments