Thu. May 2nd, 2024

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

वासिङ्टन, काठमाण्डू, २०८१ वैशाख २ गते आईतबार । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानले गरेको आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ का लागि आइतबार जी-७ राष्ट्रका नेताहरूसँग छलफल गरिने बताउनुभएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि बाइडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानको निर्लज्ज आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’का लागि समन्वय गर्न म आफ्ना सहकर्मी जी-७ नेताहरूलाई सोमबार छलफलमा सहभागी हुन आग्रह गर्दछु ।”

नेतन्याहूसँग फोनमा बाइडेनले इजरायलको सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता दोहो-याउनुभएको थियो । उहाँले भन्नुभयो, “आक्रमणको सामना गर्न र परास्त गर्न उल्लेखनीय क्षमता प्रदर्शन गरेको छ र यसले आफ्ना शत्रुहरूलाई स्पष्ट सन्देश दिएको छ । उनीहरूले इजरायलको सुरक्षालाई प्रभावकारी रूपमा खतरामा पार्न सक्दैनन् भन्नेकुरा मैले प्रधानमन्त्री नेतन्याहूसँगको टेलिफोन वार्तामा पनि भनेको छु ।”

बाइडेनले यमन, सिरिया र इराकबाट सञ्चालित इरानका सहयोगीहरूले हवाई मार्गबाट आक्रमण गरेको भन्दै ती आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । उक्त क्षेत्रमा रहेका अमेरिकी सेनाले इजरायललाई भित्रिने सबै ड्रोन र क्षेप्यास्त्र खसाल्न सहयोग गरेको राष्ट्रपति बाइडेनले बताउनुभयो ।

बाइडेनका अनुसार शनिबारको आक्रमण अमेरिकी सेना र सुविधाहरूलाई लक्षित गरिएको थिएन । उहाँले भन्नुभयो, “अमेरिकी सेना ‘सबै खतराहरूको लागि सतर्क रहनेछ र आफ्ना जनताको सुरक्षाको लागि सबै आवश्यक कदम चाल्न हिचकिचाउने छैन ।”

गत अप्रिल १ मा दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा इजरायली क्षेप्यास्त्र आक्रमणको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको होे । सिन्ह्वा

Facebook Comments