Sat. May 11th, 2024

विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि तालिम   

घोराही (दाङ), २०८० चैत १ गते बिहीबार । दाङमा विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम दिइएको छ । जिल्लास्थित डिभिजन वन कार्यालय घोराहीले सरोकारवाला निकायलाई आज तालिम दिएको हो ।

तालिममा विषालु र अविषालु सर्पको पहिचान, विषालु सर्पको टोकाइबाट बच्ने उपाय र सर्प उद्धारका विषयमा जानकारी गराइएको डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । जैविक विविधताको संरक्षण गर्ने उद्देश्य तथा सर्पलाई पनि प्रकृतिमा बाँच्न पाउने अधिकारी सुनिश्चित गर्नका लागि कार्यालयले काम गरिरहेको उहाँले बताउनुभयो ।

राससका अनुसार  सबै सर्प विषालु नहुने र सर्पको पहिचान नहँुदा स्थानीयले मार्ने गरिरहेकाले सो रोक्नका लागि विगतका वर्षदेखि वन कार्यालयले सचेतनमूलक र संरक्षणमुखी कार्य गर्दै आइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । दिगो व्यवस्थापनको अभाव, सर्प देख्नासाथ मारिहाल्ने मानव प्रवृति, पहिचानमा ज्ञान र उद्धारका लागि सीपको कमी, अनुसन्धान तथा प्रचारप्रसारको अभावमालगायत कारणले सर्प संरक्षणमा चुनौती देखिएको उहाँको भनाइ छ ।

स्थानीय वन, जङ्गलमा पाइने सर्प संरक्षणका लागि कार्यालयले बर्सेनि योजना बनाएर काम गरिरहेको भन्दै पछिल्ला केहीवर्षयता सर्प संरक्षण कार्य सफलतातर्फ उन्मुख भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रशिक्षक सर्प विज्ञ वसन्त सुवेदीले पछिल्लो सात वर्षमा आफूले पाँच हजार बढी सर्पको उद्धार गरेको जनाउँदै यस क्रममा दाङमा २६ प्रजातिका सर्प भेटिएकामा छ प्रजातिमात्रै विषालु पाइएको बताउनुभयो । उहाँका अनुसार बाँकी २० प्रजाति अविषालु रहेका छन् ।

अध्ययनमा नेपालमा ८९ प्रजातिका सर्प पाइएको सर्प विज्ञ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ८९ प्रजातिमध्ये १७ प्रजातिमात्रै विषालु भेटिएका छन् । विश्वमा पाइने सर्पमध्ये १२ प्रतिशत मात्रै विषालु सर्प हुने उहाँको भनाइ छ ।

अविषालु सर्पले टोकेपनि मानिसको ज्यान नजाने भन्दै सुवेदीले विषालु सर्पले टोकेमा समयमै सावधानी अपनाउँन नसक्दा ज्यान जाने गरेको बताउनुभयो । सर्प विज्ञ सुवेदीले सर्पले टोकिहाले प्राथमिक उपचारका नाममा ढिलाइ गर्न नहुने भन्दै तत्काल अस्पताल पु-न सके ज्यान जानेको सङ्ख्यामा कमी ल्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा सर्प उद्धारसम्बन्धी सीप जीवित सर्प ल्याएर देखाइएको थियो । डिभिजन वन कार्यालय र मातहतमा रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सामुदायिक वन समूहका उपभोक्तालगायतको सहभागितामा भएको कार्यक्रममा सर्पका बारेमा विस्तृत जानकारी, पहिचानका तरिका, उद्धारको सीपलगायत विषयमा तालिम दिइएको थियो ।

Facebook Comments