Sun. Apr 28th, 2024

आफ्नै हजुरआमाको हत्या गर्ने नाति पक्राउ

दमक (झापा), २०८० चैत १ गते बिहीबार । झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका-७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टङ्क दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताउनुभयो । उहाँका अनुसार फागुन २५ गते राति ८२ वर्षीया हजुरआमा नरमाया विकलाई पैसा नदिएको निहुँमा लागुऔषध सेवन गरेका नाति धिरजले अन्धाधुन्द रड प्रहार गरेका थिए ।

रड प्रहारबाट ज्यान गुमाएकी हजुरआमालाई नाति धिरजसहित चारैजनाले मिलेर घर नजिकैको ग्वालीमा शव गाडेका थिए । पक्राउ परेका अभियुक्त धिरजले प्रहरीसमक्ष हजुरआमाको हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

पाँच दिनदेखि आमा हराइरहेको भन्दै वृद्धाका छोरा रमेश विकले बुधबार बिहान इलाका प्रहरी कार्यालय गौरादहमा उजुरी दिनुभएको थियो । उजुरीलगत्तै अनुसन्धानका क्रममा शवसहित चारै जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । रासस

Facebook Comments