Mon. Dec 23rd, 2024

विराटनगरवासीलाई भारतीय तरकारी, कटहरीका किसानको तरकारी बारीमै कुहिदै

- कोरोनाले किसानको विचल्ली

काठमाडौं, २०७७ बैशाक ३ गते बुधबार

मोरङ, कटहरी गाउँपालिका- ४ का कोपिन्द्र सिंहको चार बिघा जग्गामा टमाटर, भन्टा, बन्दा, सिमी, खोर्सानी र काउली बेच्न नमिल्ने गरी छिप्पिसक्यो । २२ दिन लामो बन्दाबन्दीका कारण उहाँले नजिकैको विराटनगर बजार पुर्‍याउन सक्नु भएको छैन ।

‘तीन बिघामा लगाएको टमाटर त बारीमै कुहिन थालिसक्यो,’ भन्नुहुन्छ, ‘गाउँलेलाई जति चाहिन्छ लैजाऊ भन्दा पनि कोही लैजान आउँदैनन् ।’

वडानम्बर ४ का सदस्यसमेत रहनु भएका अर्का किसान रमेशप्रसाद सिंहको पनि तीन बिघा जमिनमा पाकेको टमाटर बोटमै कुहिन लागेको छ । अहिले पाकेर कुहिन थालेको आफ्नो वाली हेरेर मन रुवाउनुबाहेक किसानहरुसँग अर्को विकल्प नरहेको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत तरकारी खेती गरिरहेका कटहरीका १९० किसानका प्रतिनिधि हुनुहुन्छ, उहाँहरु । यो धमाधम तरकारी बजार पुर्‍याउने सिजन हो, तर कटहरीका किसान थाप्लामा हात राखेर बस्न बाध्य भएका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण किसानहरु आफ्नो घर-आँगनदेखि टाढा खेतबारीसम्ममा सीमित हुन परेको छ । सरकारले अत्यावश्यक उपभोग्य वस्तुमा पर्ने तरकारी ढुवानी नरोकेको भएपनि बन्दाबन्दीमा मजदुर नपाइने रमेशप्रसाद सिंहले बताउनु भयो ।

कटहरीमा उत्पादितमध्ये ७० प्रतिशतभन्दा बढी तरकारी खपत हुने विराटनगरमा अहिले सब्जी मन्डी नै बन्द छ । विराटनगरको आवश्यकता रानी नाकाबाट भित्रिने तरकारीले पूरा गरेको प्रधानमन्त्री कृषि परियोजना तरकारी ब्लकका अध्यक्ष रामउदय बताउनु हुन्छ ।

‘तरकारी बोकेका भारतीय ट्रकहरु रातारात रानीबाट भित्रिने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘स्थानीय प्रशासनले भारतीय तरकारी रोकेर स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन मद्दत गरे नेपाली किसानहरुलाई ठूलो राहत मिल्ने थियो ।’

रानी भन्सारका सूचना अधिकारी गोपी उप्रेती तरकारी रोक्ने कुनै आदेश नभएकाले भारतबाट निकासी नरोकिएको बताउनु हुन्छ । उहाँकाअनुसार बन्दाबन्दी लागू भएको चैत १० गते यताको २० दिनमा रानी नाकाबाट ५३३ मेट्रिक टन आलु, प्याज, हरियो केराउ, टमाटर लगायत तरकारी भित्रिएको तथ्याङ्क छ । अनलाईन खवरबाट

Facebook Comments