Sat. May 4th, 2024

प्रधानमन्त्रीद्वारा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको समापन

काठमाण्डू, २०८० फागुन १६ गते बुधबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन भएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी अभिरूचिपूर्वक अवलोकन गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाण्डूमा सञ्चालित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८०’ को आज समापन गर्दै उहाँले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान गरेको धारणा राख्नुभएको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

“प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्छ, नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कलाकारिताका माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नुभएको छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी अभिरूचिपूर्वक अवलोकन गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

नेपाल प्राकृतिकरूपमा सुन्दर र मौलिक नेपाली प्रकृति रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यहाँका हिमाल, नदीनाला, छहरा, जङ्गल सबै नै चित्रकलामय रहेको छ । यसलाई पारखीहरूबाट ठोस आकार दिएर जब चित्रकलामा रुपान्तरण गरिन्छ, त्यसले दिने सन्देश धेरै नै शक्तिशाली हुन्छ भन्ने मैले महसुस गरेको छु ।”

उहाँले कलाकारबाट देशको पहिचान र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुगेको पनि बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले चित्रकला प्रदर्शनका लागि विश्वका कलाकारले तयार पार्नुभएको कलाले नेपालको भूगोल र संस्कृति एवं परम्परा चित्रमार्फत देखाइएको आफूले पाएको बताउनुभयो ।

काठमाण्डूको आर्ट काउन्सिलमा यही फागुन ५ गतेदेखि सुरु भएको प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्र समावेश गरिएको आयोजकले जनाएका छन् । रासस

Facebook Comments