Fri. May 3rd, 2024

नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित

भिओके समाचार काठमाण्डू, २०८० फागुन १६ गते बुधबार । दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्‍याउनु भए पनि तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन-आउट हुनुभयो । चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड आउट हुनुभयो । उहाँले आउट हुनुअघि ३४ बलमा ६ चौका र ३ छक्का हान्नु भएको थियो । त्यसपछि आउनु भएका प्रतिश जिसीले पाँचौं बलमा रन लिन सक्नुभएन । छैटौं बलमा उहाँले १ लेगबाइ पाए पनि त्यो रनले नेपालको हार टार्न सकेन ।

नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट हुनुभएको थियो । सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट हुनुभयो । कप्तान रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट हुनुभयो । कुशल मल्ल ११, आशिफ शेख ३४ रनमा र कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किनुभएको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाउनुभयो ।

Facebook Comments