Wed. Apr 24th, 2024

लकडाउनमा बढ्यो काठ तस्करी : डढेलोले वनजन्तु असुरक्षित

वर्दिबास, २०७७ बैशाक २ गते मंगलबार

कोरोना भाइरसको महामारीबाट बच्न सबै घरभित्र बसेका छन् । गाउँ सरह सबै सुनसान छन् । तर योबेलामा वनमा काठको चोरी तस्करी भने बढिरहेको छ । साथै वनमा लागेको डढेंलोले पनि वन्यजन्तु थप असुरक्षित भएका छन् ।

डिभिजन वन कार्यालय महोत्तरीको टोलीले गौशाला नगरपालिका १ स्थित एभरेष्ट चिनी कारखाना मा फसेको निलगाई मृत अवस्थामा फेला परेको छ । कारखानभित्र पसेका निलगाईलाई उद्धार गर्न गाउँलेसहित गएका वन कर्मचारीले मरेको अवस्थामा बैशाख १ गते दिउँसो फेला परेका थिए । चार दिनअघि रामनगरमै जंगलबाट गाउँ पसेको चित्तललाई उद्दार गरिएको थियो । चैत्र ३० गते पनि बर्दिबासस्थित पाटु सामुदायिक वनको भीरमा फसेको निलगाईलाई गाउँले र वनकर्मचारीले उद्दार गरेर वनमा छाडेका थिए ।

लकडाउनको मौका छोपी वनमा काठ तस्करी र डढेंलो लगाएर वन्यजन्तुको सिकार गर्ने काम भइरहेको छ । रुखमा वसन्तु ऋतुसँगै पालुवा पलाएका छन् । शान्त, मनमोहक वातावरणबीच वनमा दानापानी नपाएर भोकाएका वन्यजन्तु भौतारिँदै गाउँ पस्ने गरेका छन् । शान्त वनमा डढेंलो दन्किरहेको छ भने, सिकारीहरूले रुखको जरामा बन्चरो, आरा चलाइरहेका छन् । मासु खान सिकारीहरूले वन्यजन्तुमाथि बन्दुक चलाइरहेको अवाज दिनहुँ वनबाट गाउँसम्म सुनिने गरेको गाउँले बताउँछन् ।

चैत्र-वैशाखको हावाहुरीसँगै वनमा डढेंलो पनि लागिरहेको छ । भोकाएका जीवजन्तुले बास स्थानमा आगो फैलिएपछि ज्यान जोगाउन भाग्दै गाउँ पुग्ने गरेका छन् । गाउँमा ती जीवजन्तुलाई घेरा हाली सिकार गरेर मासु खाने गरिएको बर्दिबास नगरपालिकाका कार्यपालिका सदस्य सूर्य विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार लकडाउनले बाहिर गएका सबै गाउँ फर्किएका छन् । वनमा आगलागी भएपछि भौतारिएर गाउँ पुगेका वन्य जन्तुहरूलाई लखेटेर भगाउने, जाल हानेर सिकार गरी मार्ने क्रम बढेको छ ।

वनमा भएका चराचुरुंगीका गुँड जलेर खरानी भएको छ । निलगाई, बँदेल, बाँदर, हरिण, मृग, स्याल, मयुर जस्ता वन्यजन्तुलाई वनमा बास स्थानकै समस्या छ । वनमा दिनहुँ आगलागी भइरहेको छ ।

वनबाट काठको चोरी-तस्कररी र वन्यजन्तुको सिकारी नियन्त्रण गर्न विशेष सुरक्षा सयन्त्र बनाएर काम भइरहेको डिभिवन वन कार्यालय महोत्तरीका डेफो हेमन्त साहले जनाए ।

‘लकडाउनले सबैतिर सुनसान छ । वन्यजन्तुहरू शान्त वातावरणमा गाउँसम्म पुग्ने गरेका छन् । यस्तो अवस्थामा वन्यजन्तु असुरक्षित भएका छन्, डिएफओ साहले भन्नुभयो,‘लडकाउनमा हामी कोही घर नगएर २४ घण्टा तीन टोली बनाएर वन र वन्यजन्तुको संरक्षणमा खटिएका छौं । फसेका वन्यजन्तुको उद्धार, वनबाट हुने काठ तस्करी नियन्त्रण गर्न हामी सक्रिय छौं ।’ वनमा भएको आगलागी नियन्त्रणको लागि  कार्यालयका कर्मचारीलाई नयाँ प्रविधिको ट्रेनिङ्ग र पानी ट्यांकीको व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । अन्नपूर्णपोष्ट अनलाईनबाट

Facebook Comments