Mon. May 6th, 2024

विदेशबाट फर्किएकाको विवरण पत्ता लगाउन २० हजार सीमकार्ड ट्रयासिङ गरिदै

काठमाडौं, २०७७ बैशाक २ गते मंगलबार

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस नियन्त्रणका लागि गठन भएको कोभिड-१९ क्राइसेस म्यानेजमेन्ट सेन्टर अपरेशन (सीसीएमसी अप्स) ले पछिल्लो समय सञ्चालनमा आएका २० हजार मोबाइल सीमको निगरानी सुरु गरेको छ ।

सीसीएमसी अप्स अन्तर्गतको सूचना तथा प्रविधि विभाग मार्फत विदेशबाट फर्किनेहरुमा कोरोनाको संक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीले चैत १ गतेदेखि सुचारु भएका नेपाल टेलिकमका सीमको निगरानी सुरु गरेको हो । विदेशबाट फर्किएकाहरुले नयाँ सीमा चलाउने सम्भावनालाई मध्यनजर गर्दै ती सीमको निगरानी सुरु गरिएको सीसीएमसीले जनाएको छ । सीम ट्रयासिङका लागि दैनिक २० जना सैनिक निरन्तर खटिइरहेको नेपाली सेनाले जनाएको छ ।

नागरिक न्यूज अनलाईनका अनुसार प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा रहेको सीसीएमसीले हालसम्म झण्डै एक हजार आठ सय जनासँग सम्पर्क गरेर उनीहरु विदेशबाट फर्केको हो या होइन भन्ने जानकारी लिइसकेको छ । बाँकी नम्बरहरुमा पनि निरन्तर सम्पर्क गरेर विवरण संकलन तथा जानकारी लिने काम भइरहेको सीसीएमसीले जनाएको छ । विदेशबाट फर्किएकाहरुसँग कोभिड १९ को लक्ष्यण देखिएको छ वा छैन भन्ने जानकारी लिने तथा उनीहरुलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र आवश्यकता अनुसार क्वारेन्टाइनमा बस्न आग्रह गरिरहेको सेनाले जनाएको छ ।

यसले विदेशबाट फर्किएकाहरुको अवस्था र उनीहरुमा देखिनसक्ने कोरोनाको संक्रमणलाई पत्ता लगाउ सहज हुने सेनाले जनाएको छ । पछिल्लो समय विदेशबाट फर्किएका कतिपयमा कोरोनाको संक्रमण भएको पाइएपछि सीसीएमसीले विदेशबाट फर्किएकाहरुको निगरानी सुरु गरेको हो । सीसीएमसीले हाल नेपाल टेलिकमका सीमका प्रयोग कर्तामाथि मात्र निगरानी गरिरहेकोको छ ।

एकैपटक टेलिकमका ठूलो संख्यामा रहेका सीममाथि निगरानी गरिएकाले अन्य  दूरसञ्चार प्रदायकका सीम निगरानी नगरिएको सीसीएमसीले जनाएको छ । टेलिकमका सीम प्रयोककर्ताहरुको लगत संकलन पछि अन्य दुरसञ्चार प्रदायक कम्पनीका पछिल्लो समयमा प्रयोगमा आएका सीम प्रयोगकर्ता माथि पनि निगरानी गरिने सीसीएमसीले जनाएको छ । सीसीएमसीले ट्रयासिङ र ट्रयाकिङ सुविधा सहितको कोभिड १९ मोबाइल एप्स पनि विकास भइरहेको जनाएको छ ।

नेपालको प्रस्तावमा दुई मुलुकले देखाए चासो
सरकारले कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्य सामग्री खदिरको जिम्मा नेपाली सेनालाई दिएसँगै सेनाले विभिन्न पाँच मुलुकमा स्वास्थ्य सामग्री आयातका लागि प्रस्ताव पठाएको थियो ।

चीन, भारत, सिंगापुर दक्षिण कोरिया र इरानमा परराष्ट्रमन्त्रालयमार्फत प्रस्ताव पठाइएकोमा चीन र भारतले मात्र नेपालको प्रस्ताप्रति चासो देखाएका छन् । भारतले आवश्यक उपकरण आफूसँग पर्याप्त नभएको भन्दै औषधी उपलब्ध गराउन सक्ने जनाएको छ भने चीनले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सक्ने जानकारी गराएको नेपाली सेनाले जनाएको छ ।

भारतले नयाँ दिल्लीबाट नेपाल आफैले औषधी उठाउनुपर्ने बताएको छ भने चीनले ग्वान्जाओबाट नेपालले आवश्यक औषधी ढुवानी गर्न सक्ने जनाएको छ । दुई मुलुकले चासो देखाएपछि सेनाले नेपालका सरोकारवाला निकायको समन्वयनमा ती मुलुकसँग थप छलफल गरिरहको जनाएको छ । चीनले हाल विभिन्न ८० मुलुकमा स्वास्थ सामग्री पठाइरहेको छ । नेपालले चीनबाट औषधी निर्यात गर्ने सहमति भएमा नेपाल चीनबाट कोभिड १९ को औषधी आयात गर्ने ८१ औँ मुलुक हुनेछ ।

सरकारले कोभिड १९ को नियन्त्रणका लागि यस अघी स्वास्थ्य सेवा विभाग अन्तर्गत नीति कम्पनीमार्फत स्वास्थ्य सामग्री आयातको प्रक्रिया अघी बढाएको थियो । व्यापारिक समुह ओम्नी गु्रपले सरकारसँगको सहमति अनुसार पहिलो चरणमा ल्याएको औषधीको मुल्य र गुणस्तरमाथि प्रश्न उठेपछि सरकारले उक्त कम्पनीसँगको सम्झौता रद्द गरेको थियो । त्यसपछि गत चैत १६ मा बसेको मन्त्रीपरिषदको बैठकले नेपाली सेनालाई स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिएको थियो । सोही दिन बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार चैत १९ मा गठन गरिएको सीसीएमसी अप्सले हाल विभिन्न चार कलस्टर बनाएर स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति तथा अत्यावश्यक सेवा, शान्ति सुरक्षा कार्य तथा सूचना तथा प्रविधि सम्बन्धी कार्य गर्दै आएको छ ।

सीसीएमसीको शान्ति सुरक्षा कार्य अन्तर्गत हालसम्म देशभर २९ हजार तीन सय ८९ क्वारेन्टाइन बेड, तीन हजार एक सय १४ आइसोलेशन बेड तयारी अवस्थामा रहेको र हालसम्म आठ हजार ८३ जना क्वारेन्टाइनमा रहेको र ८२ जना विरामी आइसोलेसनमा रहेको सेनाले जनाएको छ । सीसीएमसीकै सक्रियतामा संक्रमित देखिएका तथा संक्रमण हुनसक्ने जोखिम रहेका क्षेत्रबाट हालसम्म ३६ सय भन्दा बढीको स्वाव संकलन गरेर परीक्षण गरिसकिएको र यो कार्य तिव्र गतिमा भइरहेको सेनाले जनाएको छ ।

Facebook Comments