Sun. Apr 28th, 2024

बैंक डुब्ने अवस्थामा नरहेको गभर्नर अधिककारीको भनाइ

काठमाण्डू, २०८० फागुन १४ गते सोमबार । आज  नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले राष्ट्र बैंकको नियमनमा चल्ने बैंक तथा वित्तीय संस्थाको वचत सुरक्षित गर्ने मेकानिजम राष्ट्र बैंकसँग भएकाले नेपाली बैंक डुब्ने अवस्था नभएको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले अर्थतन्त्र संकुचनमा रहेको कारण बजारमा मागमा कमी आएको बताउनु भयो । ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको भन्दै मुलुकको निर्माण क्षेत्र समेत सुस्तता रहेको गभर्नर अधिकारीको भनाई छ । उहाँले निर्माण क्षेत्रलाई चलायमान बनाउनसके आर्थिक गतिविधि समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । गभर्नर अधिकारीले १४ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति मुलुकको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको बताउनु भयो ।

उहाँले बैंक तथा वित्तीय संस्था डुब्दा मुलुकमा कस्तो असर पर्छ भन्ने विषयमा सबैले ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सडकबाट आउने दबाबले अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो । अध्यक्ष केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सडकबाट नै चल्ने अवस्था आएको गुनासो गर्नुभयो । उहाँले नेपाली बैंकहरुमा कुनै पनि समस्यामा नभएको दाबी गर्दै त्यस्ता हल्ला र गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले सरकारको पुँजीगत खर्च बढ्न नसक्दा समस्या भएको बताउनु भयो । उहाँले रेमिट्यान्स बढ्दै गइरहेको बताउनु भयो । उहाँले वैदेशिक मुद्रा सञ्चिति बढ्नु राम्रो भएपनि यसको प्रयोग गर्न जान्न आवश्यक रहेको बताउनु भयो । उहाँले ५ लाखसम्मको निक्षेपको बीमा पनि हुने भएको भन्दै बैंकहरुमा पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको बताउनु भयो ।

Facebook Comments