Sun. May 12th, 2024

इजरायलीद्वारा गाजाका सर्वसाधारणलाई ‘उद्धार गर्ने’ प्रस्ताव   

काठमाण्डू, २०८० फागुन १४ गते सोमबार । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयले प्यालेस्टिनी भूमिको दक्षिणी शहर रफाहमा स्थलगत आक्रमण आवश्यक रहेको उल्लेख गर्दै इजरायली सेनाले गाजामा रहेका ‘युद्ध क्षेत्रहरू’ बाट सर्वसाधारणहरूलाई बाहिर निकाल्ने योजना प्रस्ताव गरेको बताउनुभएको छ ।

विदेशी सरकार र सहायता संस्थाहरूले रफाहमाथि आक्रमण गर्दा ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु हुने डर बारम्बार व्यक्त गर्दै आएका छन् । अधिकांश अन्यत्रबाट विस्थापित प्यालेस्टिनी रहेको रफाहमा १४ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन् । इजरायलले स्थल सेनाको कारबाहीबाट अछुतो रहेको गाजाको अन्तिम शहर रफाहमा उनीहरू भेला भएका छन् । छिमेकी मुलुक इजिप्ट हुँदै ल्याइएका अति आवश्यक सहायताका लागि पनि यो प्रवेशविन्दु हो ।

नेतन्याहुको कार्यालयबाट विज्ञप्तिमा इजरायली सेनाले गाजा पट्टीमा युद्धग्रस्त क्षेत्रहरूबाट जनसङ्ख्यालाई बाहिर निकाल्ने योजना र आगामी परिचालन योजनाबारे प्रस्ताव युद्ध क्याबिनेटलाई प्रस्तुत गरेको छ भनि उल्लेख गरिएको छ । वक्तव्यमा सर्वसाधारणलाई कसरी र कहाँ सार्ने भन्ने बारे कुनै जानकारी दिइएको छैन ।

दोहामा इजरायली र हमासका प्रतिनिधिहरूको सहभागिता र इजिप्ट, कतारी र अमेरिकी ‘द्वन्द्व विज्ञहरू’ को समन्वयमा युद्धविराम सम्झौता वार्ताका लागि भएको बैठकपछि यो घोषणा गरिएको इजिप्टको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । इजरायलको सहयोगी संयुक्त राज्य अमेरिकाले जारी मध्यस्थता प्रयासले युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने दिशामा ‘समझदारी’ को वातावरण बनेको बताएको छ भने हमास समूह निकट स्रोतले इजरायली सेना फिर्ता गर्न जोड दिएको बताएको छ ।

यसैबीच गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै आएको प्यालेस्टिनी सरकारका प्रधानमन्त्री मोहम्मद श्तेयेहले आज आफ्नो सरकारको राजीनामा घोषणा गर्नुभएको छ ।

राष्ट्रपति महमुद अब्बासलाई बुझाउनु भएको राजीनामा पत्रमा उहाँले आफ्नो राजीनामा गाजापट्टीविरुद्ध आक्रामकता र पश्चिम किनार साथै जेरुसेलममा तनावसँग सम्बन्धित घटनाक्रमलाई ध्यानमा राख्दै आएको बताउनु भएको छ । गएको अक्टोबर ७ मा इजराइल र प्यालेस्टिनी इस्लामी आन्दोलन हमासबीच युद्ध सुरु भएपछि राष्ट्रपति अब्बासले बढ्दो आक्रोशको सामना गर्नुपरेको छ ।

धेरै मानिसले इजराइली आक्रमण पश्चिम किनारमा बढ्दो हिंसाको कडा निन्दा नगरेकामा प्यालेस्टिनी राष्ट्रपतिको आलोचना गरेका छन् । सिन्ह्वा

Facebook Comments