Tue. May 21st, 2024

विश्व स्वास्थ्य संगठन भन्छ, : “स्वाइनफ्लुभन्दा कोरोना १० गुणा खतरनाक, भ्याक्सिनविना रोक्न सकिँदैन”

काठमाडौं, २०७७ बैशाक २ गते मंगलबार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ ।

भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा दिनुभएको हो । उहाँले भन्नुभयो, ‘हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।’

सन् २००९ मा अमेरिका र मेक्सिकोबाट निस्किएको स्वाइन फ्लु (एच १ एन१)बाट विश्वभर १८ हजार पाँच सय मानिसको मृत्यु भएको थियो । तर लेसेन्ट मेडिकलले भने उक्त भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजारदेखि पाँच लाख ७५ हजारसम्म हुन सक्ने आकलन गरेको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार यो फ्लुलाई सन् २००९ को जुन महिनामा महामारीको घोषणा गरिएको थियो । सन् २०१० को अगष्टमा यो महामारी सकिएको बताइएको थियो ।

सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख १९ हजार बढीको ज्यान गइसकेको छ ।

तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन । यसको खोप आउन कम्तीमा १२ देखि १८ महिनासम्म लाग्न सक्ने बताइएको छ ।

डब्लुएचओका प्रमुख गेब्रियससले अहिले केही मुलुकमा प्रत्येक तीनदेखि चार दिनको अवधिमा कोभिड-१९ का संक्रमितको संख्या दोब्बर भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले यसलाई रोक्न पहिचान, परीक्षण, आइसोलेसन, उपचारका साथै सम्पर्कमा रहेका मानिसको ट्रेसिङमा जोड दिन आग्रह गर्नुभयो

अहिले विश्वको आधाभन्दा बढी मानिसहरु घरमा नै बसिरहेका छन् । तर, यो कडाइ केही खुकुलो बनाउने हो भने यो महामारी अझै बढ्न सक्ने डब्ल्यूएचओका प्रमुखको भनाइ छ ।

कोभिड-१९ फैलिँदा जति छिटो फैलिएको थियो, नियन्त्रणमा भने निकै सुस्त गतिमा आएको डब्ल्यूएचओको निष्कर्ष छ । त्यसैले यसलाई एकैपटक नियन्त्रण गर्न नसकिने बताइएको छ । गेब्रियससले सही समय नआउँदासम्म सामाजिक कडाइको नियम जारी राख्नुपर्ने बताउनु भएको छ ।

पूर्णरुपमा यो महामारी हटाउन भने प्रभावकारी खोप तत्कालै आवश्यक देखिएको उहाँको भनाई छ । अनलाईन खवरबाट

Facebook Comments