Mon. Apr 29th, 2024

भारतमा ट्याक्टर ट्रली पल्टिँदा २२ जनाको मृत्यु, १० जना घाइते

काठमाण्डू, २०८० फागुन १२ गते शनिबार । भारतको उत्तर प्रदेशमा आज ट्र्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जना तीर्थ यात्रीहरुको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

उक्त दुर्घटना उत्तर प्रदेशको राजधानी लखनउबाट २ सय ६६ किलोमिटर उत्तरपश्चिममा पर्ने कासगञ्ज जिल्लाको पटियाली क्षेत्रमा भएको हो । कासगञ्जका प्रमुख मेडिकल अफिसर राजीव अग्रवालका अनुसार अहिलेसम्म दुर्घटनामा २२ जनाको मृत्यु भइसकेको छ र घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पीडितहरू गङ्गा स्नान गर्न कादरगञ्ज जाँदै थिए । पीडितहरूमध्ये अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । उद्धारकर्ताहरूले घटनास्थलबाट शव निकालेर शवगृहमा राखेको र पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

सिन्ह्वा समाचार समितिका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नु भएको छ । उहाँले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नु भएको छ । ट्र्याक्टर चालकले अर्को गाडीलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

भारतमा घातक सडक दुर्घटनाहरू प्रायः ओभरलोडिङ, सडकको खराब अवस्था र लापरवाह ड्राइभिङका कारण हुने गरेको पाइएको छ । भारतमा सडक दुर्घटनामा प्रत्येक वर्ष लगभग १ लाख ५० हजार मानिसहरूको मृत्यु हुने गरेको छ ।

Facebook Comments