Thu. May 2nd, 2024

त्रिभूवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

काठमाण्डू, २०८० फागुन १० गते बिहीबार । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजङ्ग बराल नियुक्त हुनुभएको छ ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको प्रधानमन्त्रीका निजी सचिवालय सदस्य विनोद न्यौपानेले जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गर्नुभएको थियो ।

सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । बराललार्ई नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले शिक्षामन्त्री र शिक्षा सचिवसँग उहाँको ‘करिअर’का विषयमा जानकारी समेत लिनुभएको थियो ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ जना मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण र अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा बराललाई उपकुलपति पदमा नियुक्ति गरिएको जनाइएको छ ।

त्रिभूवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजङ्ग बराल नियुक्त, विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु पहिलो प्रार्थमिकता भएको भनाई ।

यसैबीच नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पदबहाली गर्नुभएको छ । आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो । पदबहालीपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको बताउनुहुँदै बरालले धेरै काम गर्नुपर्ने जानकारी दिनुभयो । शैक्षिक क्यालेण्डरको कार्यान्वयन, समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति बरालले बताउनुभयो । विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफनो योजनामा रहेको उहाँको भनाइ छ । रासस

Facebook Comments